राष्ट्रिय जनमोर्चाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कोणसभा गरेर संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रचार गरेको छ।
जनमोर्चाले आगामी चैत २४ देखि काठमाडौँमा सप्ताहब्यापी संघीयताविरुद्ध आन्दोलन गर्दैछ।
सो आन्दोलनको प्रचारका लागि उपत्यका लगायत देशैभरी कोणसभा गरिरहेको जनमोर्चाले जनाएको छ।
बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित कोणसभामा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले मधेशवादीहरू तराईलाई टुक्राउन चाहेको बताउँदै तराईका मूलबासी भने कहिल्यै पनि नेपालको विरुद्ध नलागेको बताए।
‘मधेसवादीहरू मधेसलाई नेपालबाट टुक्राउने पक्षमा छन्’ उनले भने, ‘तर तराईका मूलबासी कहिल्यै नेपालको विरुद्ध लागेनन् ।’
तराईका मूलबासीहरू सधैँ नेपालको राष्ट्रियता, सार्वभौममिकता र भौगोलिक अखण्डताको पक्षमा रहेको उनको भनाइ थियो।
भारतीय ‘साम्राज्यवाद’ले नेपालमा क्षेत्रीय सङ्घीयताको अवधारणा भित्राएको दाबी गर्दै उनले सोही स्वार्थ पूरा गर्न खुकुलो नागरिकता नीति अगाडि सारिएको बताए।
भारतीय साम्राज्यवादको प्रायोजनमा तराईका २२ जिल्लालाई नेपालबाट गर्ने योजना रहेको उनको दाबी थियो।
जनमोर्चाले काठमाडौँ केन्द्रित आन्दोलनबारे जानकारी दिन कोटेश्वरसहित चाबहिल, कलंकी, बसपार्क, रत्नपार्कलगायतका क्षेत्रमा कोणसभा गरेको छ।
Shares

प्रतिक्रिया