राजनीति


अहिलेको सरकार कांग्रेसले चाहेर बनेको होइन : गगन थापा

अहिलेको सरकार कांग्रेसले चाहेर बनेको होइन : गगन थापा

नेपालखबर
माघ ३०, २०८१ बुधबार २०:९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छ्न्। 

बुधबार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।  

उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूमा सम्झौता नगरिने बताए। उनले वर्तमान सरकार नेपाली कांग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताए।

सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर समयको सदुपयोग गर्ने उनको दाबी छ।  

‘नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो । हामीले गरेको होइन। त्यो आफैँ निर्माण भएको हो,' उनले भने, 'अब नेपाली कांग्रेसले के गर्ने हो? नेपाली कांग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ। हामीले अहिले नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौं। यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो?'

कांग्रेसको नेतृत्व पंक्तिले समय खेर नफाल्ने अठोट गरेकोले एमालेसँग मिलेर समयको समदुपयोग गरेको उनको भनाइ छ।  

'हामी सबै काँग्रेसको नेतृत्व पंक्तिको एउटै अठोट के हो भने समय खेर नफालौँ । यो तीन वर्षको समयको अधिकतम सदूपयोग गर्ने,' उनले भने, 'यो बीचमा सरकार पनि नबदल्ने हो। हामी आलोपालो सरकार चलाउने गरी अहिले नेकपा एमालेको नेतृत्वमा सरकार अघि बढिरहेको छ। निश्चित समयपछि हाम्रो सभापतिको नेतृत्वमा सरकार जान्छ।'

उनले सरकार गठनअघि लागि सात बुँदे सहमति गरेको भन्दै यही सहमतिकै आधारमा सरकार सञ्चालन हुने पनि बताए। 

'नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ति कुराहरु नेपाली कांग्रेसका लागि सरकारभन्दा महत्वपूर्ण कुरा हो,' उनले भने, 'यसमा कांग्रेस स्पष्ट छ। विश्वास छ एमाले पनि यसमा स्पष्ट छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad