रास्वपा सांसद शिशिर खनालले नेपाल सरकारले झन्डै १० वर्ष अघि कुवेतमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि अहिले त्यहाँ काम गर्ने नेपाली महिलाहरूको सङ्ख्या दुई गुणाले बढेर ५० हजार जना जति पुगेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले एकातिर नेपालले प्रतिबन्ध लगाउने अर्कोतिर स्थापित नीतिलाई खिल्ली उडाउने गरी कुवेतमा बढेको यो सङ्ख्याले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता स्खलित भएको स्पष्ट देखिने बताए।
उनले नेपाली कामदारको रूपमा जाने महिलाहरूको सुरक्षामा त्यहाँ चुनौती थपेको भन्दै ‘सजिलो’ आम्दानी को प्रलोभनमा जाने महिलाहरू अत्यन्त कम तलबमा काम गर्न बाध्य भएको समेत बताएका छन्।
‘उहाँहरूले मानसिक र शारीरिक शोषण सहनुपरेको छ। सुरक्षा खोज्दै आउनेहरूलाई, नेपाली राजदूतावासको ८ जना अट्ने ‘सेल्टर’ मा ४०–५० जना राख्नुपरेको छ । न रोक्न सक्ने, न सुरक्षा दिन सक्ने नीतिले बिचौलियालाई मात्र फाइदा पुगेको छ’, खनालले भने, ‘गैरकानूनी तरिकाले नेपाली महिलाहरूलाई कुवेत पुर्याउन संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन र सुरक्षित तथा उचित आम्दानी दिलाउने सक्नेगरी नीतिगत सुधार गर्न, सम्माननीय सभामुखमार्फत, नेपाल सरकारसँग माग गर्दछु।'
Shares

प्रतिक्रिया