नेकपा माओवादी केन्द्रले जातीय मोर्चालाई सक्रिय बनाउने उद्देश्यसहित इन्चार्ज तोकेको छ। जसअनुसार पार्टी महासचिव देव गुरुङलाई पहिचानसँग सम्बन्धित संगठन समन्वय संयोजक जिम्मा दिएको छ।
संविधान जारी भएयता माओवादीका जातीय मोर्चा निष्क्रियजस्तै थिए। तर, पुस २१–२३ मा काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले जातीय मोर्चालाई फेरि सक्रिय बनाउने निर्णय लिएको थियो।
आफ्नै वर्ग र समुदायतिर फर्कने भन्दै माओवादीले मोर्चा ब्युँताएको हो। आइतबार पार्टीका तल्लो तहमा पठाइएको परिपत्र अनुसार, उपमहासचिव मातृकाप्रसाद यादवलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज बनाएको उल्लेख छ। पूर्वउपसभामुख ओनसरी घर्तीलाई जनजाति महासंघ इन्चार्ज बनाएको छ।
यस्तै, हकिकुल्लाहा खाँ मुसलमानलाई मुस्लिम मुक्ति मोर्चा नेपालको इन्चार्ज बनाएको माओवादीले परशुराम रम्तेललाई दलित राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज बनाएको छ।
नरेश भण्डारीलाई कर्णाली राष्ट्रिय मुक्ति मोर्चा इन्चार्ज बनाएको छ भने त्रिलोचन भट्टलाई सेती महाकाली मुक्ति मोर्चा इन्चार्ज बनाएको छ।
माओवादीले जनयुद्धका क्रममा भौगोलिक र जातीय मोर्चा बनाएको थियो।
तर, २०७२ असोज ३ गते संविधान जारी भएपछि उसका मोर्चा क्रमशः निष्क्रिय हुँदै गएका थिए।
Shares

प्रतिक्रिया