गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका-१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेको रिसमा सत्येन्द्रले गृहमन्त्रीकै निर्देशनमा अन्याय भोगिरहेकोबारे सांसदहरूले सरकारसँग जवाफ मागेका हुन्।
संसद् बैठकको आकस्मिक समयमा सांसदहरू शान्ति विक, शिव नेपाली, सुमना श्रेष्ठ, रणेन्द्र बराइली, हर्कमाया विकलगायतले गृहमन्त्री रमेश लेखकको चर्काे आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
सांसद शान्ति विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन्।
उनले गृहमन्त्री रमेश लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन्।
सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन्।
अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे। उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको टिप्पणी गरे।
उनले सत्येन्द्र जोडीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारँग माग गरे।
गृहमन्त्री लेखककै निर्देशनमा दलित-गैरदलित जोडी सत्येन्द्र र नेहालाई प्रहरी प्रशासनबाट दुःख दिइरहेको समाचार सार्वजनिक भएपछि बुधबार मात्र काठमाडौँको माइतीघरमा दलितहरूले गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए।
Shares

प्रतिक्रिया