राजनीति


कांग्रेसले भन्यो : जसपालाई केही न केही दिएर अध्यादेश स्वीकृत गर्नुपर्छ

कांग्रेसले भन्यो : जसपालाई केही न केही दिएर अध्यादेश स्वीकृत गर्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८१ बिहिबार १३:५७, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी पार्टी, नेपाललाई साथमा लिएर अध्यादेश पास गर्नका लागि केही न केही सम्झौता गर्नुपर्ने अवस्था आएको बताएका छन्।  

जसपा, नेपालले सरकारले ल्याएका ६ अध्यादेश स्वीकृत गर्ने पक्षमा बिहीबारसम्म नउभिएपछि मिलनबिन्दुको खोजी गर्नुपर्ने उनले बताए।

नेपालखबरसँग कुरा गर्दै घिमिरेले भने,'केही न केही दिनै पर्‍यो। समर्थन माग्ने र सरकारभन्दा बाहिर राख्ने कुरा हुँदैन। नेताहरूले सल्लाह गरेर टुंग्याउनुपर्छ।' 

सत्तारुढ दलले संघीय सरकार र मधेस सरकारमा जसपा नेपालको उपस्थिति गराउने गरी सहमतिको प्रयास गरिरहेका छन्।  
सरकारले ल्याएका अध्यादेश स्वीकृत हुनका लागि प्रतिनिधिसभामा कांग्रेस-एमालेसहितको प्रष्ट बहुमत भए पनि राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक छन्। 

यसैकारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगातार छलफल गरिरहेका छन्।  

छलफल कुनै निष्कर्षमा नपुगेपछि सरकारले आज अध्यादेश निर्णयार्थ पेस पछि हटेको छ। अब यादवलाई विश्वासमा लिएर अध्यादेश स्वीकृत गर्नुपर्ने घिमिरेको भनाइ छ।  

माघ १८ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा सरकारले ६ वटा अध्यादेश पेस गरेको थियो। सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अध्यादेश संसदमा पेस गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad