राजनीति


पोखरा भेलामा देउवाको सम्बोधन: आगामी महाधिवेशनमा आरजुलाई अगाडि बढाउने संकेत

पोखरा भेलामा देउवाको सम्बोधन: आगामी महाधिवेशनमा आरजुलाई अगाडि बढाउने संकेत

वाशुदेव मिश्र
माघ २२, २०८१ मंगलबार १४:२३, पोखरा

नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबारदेखि पार्टीका जिल्ला सभापतिहरूका लागि पोखरामा प्रशिक्षण भेला आयोजना गरेको छ। भेलाका लागि कांग्रेसका जिल्ला सभापतिदेखि केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतासम्म पोखरा आएका छन्। प्रशिक्षणमा के हुन्छ? कसले के भन्छन्? वा सहभागीले के सिकेर जान्छन् भन्दा पनि कांग्रेसको आगामी महाधिवेशन केन्द्रित कुरामा नेता/कार्यकर्ताको बढी चासो देखिन्छ। 

र, यो चासोको केन्द्रमा छन्- सभापति देउवाकी पत्नी डा. आरजु देउवा र महामन्त्री गगन थापा। पछिल्लो समय महामन्त्री थापा र सभापति देउवाबीच सम्बन्ध सुधार भएको चर्चा व्यापक छ। हेर्दा पनि त्यस्तै देखिन्छ।

आलोचनाको आगो ओकल्ने महामन्त्री गगन यतिबेला मौन छन्। उनी केपी ओली नेतृत्वको सरकारसँगै सभापति देउवालाई सघाउने भूमिकामा देखिएका छन्। सरकार र नेतृत्वको बचाउ गरिरहेका छन्।

अघिल्लो महाधिवेशनमा काँध मिलाएर हिँडेका नेता डा. शेखर कोइरालासँग महामन्त्री थापाको दूरी बढेको छ। आउँदो महाधिवेशनमा पार्टी सभापतिको प्रत्यासी बन्ने घोषणा गरिसकेका शेखरसँग दूरी बढ्नु र देउवासँग हिमचिम बढ्नुलाई गगनको व्यक्तिगत महत्वाकांक्षा मात्र नभएर देउवाकै स्वार्थका रूपमा पनि अर्थ्याइएको छ।

नेपाली कांग्रेसको विधानअनुसार अब देउवा सभापति बन्न पाउँदैनन्। तर उनी परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी डा. आरजु देउवालाई पार्टीमा स्थापित गर्न चाहन्छन्।

आरजु अहिले कांग्रेसको केन्द्रीय सदस्य छन्। परराष्ट्रमन्त्रीका रूपमा उनको भूमिका मध्यमस्तरकै छ। विपिन जोशीको सम्भावित रिहाइ तथा प्रधानमन्त्री ओलीको भारत भ्रमणको तारतम्य मिलाउन सक्नासाथ उनीप्रति तत्काल प्रश्न उठ्ने छैन। तर, पार्टीभित्र उनलाई नरुचाउनेको पंक्ति ठूलो छ। आरजुलाई अगाडि बढाउँदा स्वयं शेरबहादुरलाई पनि वंशवादलाई प्रोत्साहन गरेको आरोप लाग्नेवाला छ। 

त्यस्तोमा मंगलबार देउवाले चलाखी गरे। उनले अबको डेढ वर्षभित्र आफू प्रधानमन्त्री बन्ने सुनिश्चितताका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बखान गरे। कार्यकर्तालाई आश्वस्त तुल्याए।

‘वास्तवमा भन्ने हो भने ओली र मसँगै जेलमा बसेको साथी हौँ। धेरै दु:खकष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो, झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ। तर, पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन’, उनले भने, ‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन्। अहिले मात्र होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ। कति बेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने त्रास पनि हुँदैन। दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ।’

अर्कातिर, देउवाले घुमाउरो पाराले धर्मपत्नी  आरजुको ‘ब्रान्डिङ’ पनि गरे।

देउवाले सुरुमा पहाडदेखि हिमालसम्म बस्ने जातजाति, महिला, आदिवासी, दलित सबैको हितका लागि कांग्रेसले काम गर्नुपर्नेमा जोड दिए।

‘यो संविधान हामीले बनाएको हो। व्यवस्था हामीले ल्याएको हो । सबै जनजाति, दलित, मिलाएर लैजान सके समावेशी नेपाल छ, सग्लो राष्ट्र छ। यसलाई अत्यन्तै आपसमा मिलाएर लैजान सकेको खण्डमा हाम्रो देश  सच्चा मानेमा  सुन्दर, शान्त विशाल मात्र हैन, अझ बलियो र सबैका लागि अनुकरणीय पनि बन्न सक्छ’, उनले भने, ‘हाम्रो देशबाट सबै ठाउँमा अनुकरण हुनसक्छ। त्यसैले हाम्रो पार्टीको काँधमा ठूलो जिम्मेवारी छ। अहिले हामी नेपालले सुरु गर्‍यौँ महिलालाई ३३ प्रतिशत। अरू देशमा पनि अहिले आवाज उठेको छ। सबै देशमा महिलाहरूको आरक्षणका लागि आवाज उठेका छन्।’

देउवाले महाधिवेशनमा आफू के चाहन्छन् त भनेनन् तर दुईपटक महिला आरक्षणको प्रशंसा गर्दै महिला र त्यो पनि आरजुलाई अगाडि बढाउने संकेत गरे। आरजु नेपाली कांग्रेसको विधान निर्माण गर्नेदेखि समावेशी एजेन्डा बोक्नेसम्म सक्रिय नेतृ हुन्। गैरसरकारी संस्थामार्फत उनले महिला अधिकारका सवालमा कैयौँ काम पनि गरेकी छन्।

देउवा त्यतिमै रोकिएनन्। यसअघि वातावरणलगायत मुद्दामा खासै नबोल्ने उनले पार्टीको नेतृत्व पंक्ति र जिल्ला सभापतिहरूका अगाडि उभिएर जलवायु परिवर्तनको असरबारे समेत व्याख्या गरे।

‘अहिले क्लाइमेट चेन्जले गर्दा हाम्रा ग्लासियरहरू पग्लेका छन् । वास्तममा यही माछापुच्छ्रे पनि नांगो भएको छ। म यहीँको जेलमा परेको थिएँ विद्यार्थी कालमा। माछापुच्छ्रे सुन्दर हिउँले भरिएको सुन्दर हिमाल  थियो। त्यो चाहिँ अहिले क्लाइमेट चेन्जले नांगो हुन थालेको छ। प्रदूषण बढेको छ’, देउवाले भने, ‘हामीले यसलाई रोक्नु छ। बचाउनु छ।’

पार्टीभित्र आरजुले कुन पद रोज्छिन्, प्रस्ट भइसकेको छैन तर देउवाले आउँदो महाधिवेशनमा उनी आरजुलाई अगाडि बढाउन चाहन्छन् भन्ने प्रस्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad