ad ad

राजनीति


अभाव भयो भने घरघरमा खाद्यान्न पुर्‍याउने व्यवस्था गरेका छौँ, ढुक्क हुनुहोस् : उद्योगमन्त्री

अभाव भयो भने घरघरमा खाद्यान्न पुर्‍याउने व्यवस्था गरेका छौँ, ढुक्क हुनुहोस् : उद्योगमन्त्री

नेपालखबर
चैत ९, २०७६ आइतबार ७:०,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरी बन्दोवस्त गरेको स्पष्ट पारेका छन्।

आइतबार रिपोर्टर्स क्लबमाआयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आपूर्ति व्यवस्थापनको लागि सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारे। ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भीर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ’, उनले भने।

मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचित गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे। उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिन्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्। यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाइदा उठाउनलाई कालोबजारी गर्न सक्छन्। हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं। कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ।’

मन्त्री भट्टले भोलि त्यस्तै अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने पनि सुनाए। उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए। ‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ’, उनले भने, ‘तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन्। त्यसलाई कन्ट्रोल गर्नुपर्छ।’

उनले खाद्यन्न पर्याप्त मात्रामा स्टक रहेको बताएँदे कुनै पनि हालमा अभाव नहुने बताए। उनले भने,‘हामीसँग पर्याप्त मात्रामा स्टक छ। साल्ट ट्रेडिङको गोदाममा गएर हेर्नुहोस्। नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ। हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं। ३–४ ठाउँबाट ग्याँस पाउँछ।’

उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए। उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं।’

कालोबजारी र अभाव गर्न खोज्नेहरुलाई तीन लाख जरिवाना र ५ वर्षसम्मको कैद गरिने उनले चेतावनी दिए। ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ। त्यस्तो गरेको पाए सूचना दिनुहोस्। हामी कारबाही गर्छौं’, उनले भने। उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे। उनले भने,‘११३७ मा फोन गर्नुहोस्। हामी व्यवस्थापन गर्छौं।’

उनले कोरोनाका कारण खाद्यान्न अभाव भयो भने के गर्न भन्ने जनता ढुक्क नरहेको भन्दै उनले सरकारले सबै व्यवस्था गरेका कारण ढुक्क हुन आग्रह गरे।

‘भोलि केहीगरी कोरोना भित्रिएर बजारमा खाद्यान्न अभाव भयो भने सरकारले केह गर्न सक्दैन् होला भनेर आम नागरिक ढुक्क छैनन्। तर, त्यस्तो अवस्था आयो भने सरकारले घरघरमै खाद्यान्न पुर्याउनेगरी गृहकार्य गरेको छ’, उनले भने, ‘ देशभरिकै आपूर्ति व्यवस्था सहज बनाउनको लागि स्वास्थ्य, गृह, उपभोक्ता संरक्षण हित, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय लगायतसँगको समन्वयमा काम भइरहेको छ। कहाँ कति चाहिन्छ ? भन्ने कुरा पनि आँकलन गरेका छौं। यदि अभावको अवस्था आयो घरदैलोमा ढुवानी गर्ने व्यवस्था गरेका छौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .