राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हतारहतार पाँचवटा अध्यादेश ल्याएको भन्दै त्यसमा सरकारको नियत खोटपूर्ण रहेको ठहर गरेको छ। रास्वपाको सोमबार बसेको सचिवालय बैठकले यस्तो ठहर गर्दै अध्यादेशका गुण र दोषका आधारमा सांसदहरुले खरो बहस गर्ने निर्णय समेत गरेको छ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसद्को आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ती अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ।’
व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तिनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले जिम्मेवारी लिनुपर्ने मत समेत रास्वपाको छ। ‘संसद्मा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तिनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ।'
Shares

प्रतिक्रिया