प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई नटेरेको भन्दै यसबारे सरकारसँग कुरा गर्न सुझाव दिएको छ।
संसद्को आगामी अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रमुखप्रतिपक्षी लगायतका विपक्षीसँग गरेको छलफलमा माओवादीले यस्तो सुझाव दिएको हो।
संसद्मा विचाराधीन विधेयककै अध्यादेश सरकारले ल्याएको भन्दै यसबारे गम्भीर भएर कुरा गर्न सुझाव दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
‘सरकारले संसद्लाई राम्रोसँग रेस्पोन्स गरिराखेको छैन,’ छलफलबारे जानकारी गराउँदै उनले भने, ‘किनभने एउटा विधेयक संसद्को अर्थ समितिमा छलफलमै छ। तर त्यसको अध्यादेश आएको छ। त्यो मिलेन भन्ने हाम्रो भनाइ छ।’
पाण्डेले थपे, ‘विधेयक फिर्ता नै नलिइकन अध्यादेश ल्याएको कुरा त सम्माननीयज्यूले नै सरकारसँग कुरा गुर्नपर्यो। यो विषयवस्तु संसद्कै विषयवस्तु हो भन्ने कुरा हामीले राख्यौँ।’
सरकारले हालै विभिन्न ५ अध्यादेश ल्याएको थियो। त्यसमध्य ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसदीय समितिमै छलफलका क्रममा थियो।
Shares

प्रतिक्रिया