नेकपा एकीकृत समाजवादीले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहितका नेतालाई दिने पदको बाँडफाँट गरिसकेको थियो।
संयोजक गौतमलाई तेस्रो वरीयतासहित वरिष्ठ नेता बनाउने, महासचिव डीबी कार्कीलगायत कम्तीमा ४ नेतालाई स्थायी कमिटीमा ल्याउन एकीकृत समाजवादी तयार भइसकेको थियो।
तर गौतमले आफ्ना १७ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखे। एकीकृत समाजवादीले भने ४ जनालाई मात्र ल्याउन सकिने बताएपछि कुरा मिलेन।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसको टुंगो लगाउने जिम्मा वरिष्ठ नेता प्रमेश हमाललाई दिएका थिए।
एक पदाधिकारीका अनुसार गौतमसँग सबै कुरामा सहमति जुटिसकेको थियो। केही नाम र संख्या मिलाउन छलफल हुँदै थियो।
‘एकता गर्ने सबै कुरा टुंगो लागिसकेको थियो, अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा वामदेव गौतम रहने, डीबी कार्कीलगायत केहीलाई स्थायीमा ल्याउने फाइनल भयो,’ ती नेताले नेपालखबरसँग भने, ‘अन्य नेताको जिम्मेवारी पनि निश्चित भइसकेको थियो।’
तर, एकताको अन्तिम गृहकार्य गरिरहेका गौतमको मन एकाएक मोडियो र उनले एक्कासि माघ ५ गते एमालेमा जाने निर्णयमा पुगेको बताए।
यद्यपि अहिलेसम्म एमालेमा उनले पाउने जिम्मेवारी टुंगो लागेको छैन। अन्य नेताबारे त केही कुरै भएको छैन।
नेताहरूका अनुसार गौतम आफ्ना पक्षमा रहेकाहरूको नामावली तयार पारिरहेका छन्।
अनि मोडिए वामदेव
एमालेमा वामदेवले पाउने पद अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुईपटक भेट गरेपछि गौतम एमालेमा फर्किन राजी भएको बताइएको छ।
एमाले अध्यक्ष ओली र गौतमबीच माघ ४ गते बालुवाटारमा भेट भएको थियो।
त्यसपछि गौतमको योजना एकाएक परिवर्तन भएको एक नेताले नेपालखबरलाई बताए। ओलीले आफूलाई ‘एकीकृत समाजवादीले दिएको जिम्मेवारीभन्दा राम्रो हैसियत दिन्छु’ भनेको गौतमले आफू निकटस्थहरूलाई सुनाएका थिए।
‘एकीकृत समाजवादीले भन्दा राम्रो जिम्मेवारी दिने भनेको छ। वामपन्थी एकता विभाग प्रमुख, पार्टीको प्रमुख संरक्षक, वरिष्ठ नेता जे भए पनि कार्यकारी जिम्मेवारी दिने भन्ने छ,’ वामदेवले भनेका थिए।
ओलीले नेता र कार्यकर्ताको व्यवस्थापन चिन्ता नलिन गौतमलाई भनेका छन्।
माधव नेपालसँग केन्द्रीय सदस्यको संख्यामा कुरा नमिलेपछि एमालेसँग नजिक भएका गौतम ओलीको प्रतिबद्धतापछि ढुक्क भएका हुन्।
‘वामदेवजीलाई कार्यकारी पदाधिकारी, ८९ जना नेताको योग्यता र क्षमताका आधारमा संगठनमा व्यवस्थापन गर्ने भनेपछि हामीले एमाले जान ढिलाइ गर्न नहुने निष्कर्षमा पुगेका छौँ,’ ती नेता भन्छन्।
गौतमले एमालेको केही विचारधारामा पुनर्विचारको प्रस्ताव राख्दा ओलीले महाधिवेशनबाट प्रतिपादित कुरा कार्यान्वयन गर्दै लैजान पार्टीभित्र छलफल चलाउने आश्वासन दिए।
गौतमनिकट नेता डीबी कार्कीले एमालेमा प्रवेशका लागि आफूहरूले कुनै सर्त नराखेको बताए।
‘पार्टी एकता भनौँ भनेर गौतम कमरेडले प्रस्ताव राख्नुभएको थियो तर, प्रधानमन्त्री ओलीले पार्टी एकता नभनौँ, पार्टी प्रवेश वा पार्टी समायोजन भनौँ भन्नुभएछ, त्यसमा पनि सहमत हुनुभएको छ,’ कार्कीले भने।
सूत्रधार शंकर र प्रदीप
वामदेवलाई एमालेमा फर्काउनेगरी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली खटिएका थिए।
एकीकृत समाजवादीसँग छलफलमा रहेका गौतमलाई भेट्नुअघि पोखरेल र ज्ञवालीले अन्य नेतासँग छलफल गरे। नेकपा एकता राष्ट्रिय अभियानसँग रहेका कूल नेताबारे सोधखोज गरे।
पार्टी घोषणा गर्दा झण्डै ७ सय संख्या देखाए पनि गौतमसँग अहिले सबै जना छैनन्।
यही कुरा बुझेका ज्ञवालीले नेकपा एकता राष्ट्रिय अभियानका महासचिव डीबी कार्कीसँग माघ १ गते भेटेर वामदेवको सम्भावित कदमबारे जानकारी लिए।
कार्कीले आफ्ना नेता-कार्यकर्ताको व्यवस्थापन, कार्यकारी जिम्मेवारी दिए आउन तयार रहेको बताइदिए। त्यहीँबाट टेलिफोन गरेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न समय मिलाइदिए।
‘वामदेवजीले माघ ४ गते प्रत्यक्ष र त्यसपछि फोनमा प्रधानमन्त्री ओलीसँग कुरा गरेपछि हामी एमाले जाने निष्कर्षमा पुगेका हौँ,’ कार्कीले नेपालखबरसँग भने, ‘उहाँहरूको सचिवालयले पार्टीमा गोलबन्द हुन आह्वान गर्दै सहकार्यको निर्णय गर्यो। अब त्यहाँ जाने एउटा हदसम्मको बाटो खोल्दियो।’
एमालेमा पद थप गर्न मिल्ने सम्भावना तत्काल छैन।
तर, गौतमसँग एमाले अध्यक्ष ओलीले पार्टी विधानमा व्यवस्था नभएका कुरालाई समेट्न विधानमा रहेको बाधा अड्काउ फुकाउने बताएका छन्।
‘२ वटा दल मिल्दा वा समायोजन गर्दा के गर्ने, विधानको अर्काे धारामा व्यवस्था गरिएको छ, यसका लागि पार्टीको केन्द्रीय कमिटी, स्थायी र सचिवालयले थप निर्णय गर्न सक्छ,’ कार्कीले थपे।
पुस २४ गते कार्की र लोकनाथ धमलाले प्रधानमन्त्री ओलीलाई भेटेका थिए। राति १२ बजेदेखि २ बजेसम्म भएको भेटवार्तामा पनि ओलीले ‘तपाईंहरू आउनुस्, स्वागत छ’ भनेका थिए।
विधानअनुसार नेताको क्षमता हेरेर जिम्मेवारी दिने ओलीको भनाइ थियो।
त्यसपछि पुस २७-२८ गते नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समिति बैठक बस्यो। बैठकले एकताका लागि पहिलो वार्ता एमालेसँग गर्ने निर्णय गरेको महासचिव कार्की दाबी गर्छन्।
‘यदि एमालेसँग सहमति भएन भने त्यसैबाट फुटेको नेकपा एकीकृत समाजवादीसँग वार्ता गर्ने निर्णय भयो,’ उनले भने, ‘माधव नेपालसँग पनि कुरा नमिले नेकपा माओवादीसँग पनि एकताको वार्ता गर्न तयारीमा थियौँ।’
एमाले महासचिव पोखरेल र ज्ञवालीकै कारण पहिलो चरणमै वार्ता सफल भएको उनको भनाइ छ।
एमालेभित्रका अप्ठेरा
वामदेवलाई भित्र्याउने कुराले एमालेका केही पदाधिकारी भने खुसी छैनन्। खुलेर नभने पनि गौतमलाई तत्काल ल्याउन नहुने भन्दै असन्तुष्ट पदाधिकारीले पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन्।
तर, यसपटक गौतम जोखिम लिन तयार भएका छन्।
‘ईश्वर पोखरेललगायत केही नेताको एउटा समूह वामदेवलाई किन ल्याउनु भनेर लागेको सुनिएको छ,’ गौतमनिकट एक नेताले भने, ‘उहाँ (गौतम) काम गर्ने मान्छे, प्रतिस्पर्धी देख्नुभयो होला।’
गौतमको स्वभावले पनि उनलाई पार्टीमा भित्र्याउन एमालेका केही नेता तयार नभएका हुन्।
२०५४ सालमा पार्टी विभाजन गरेको, ०७७ पुस ५ पछि तत्कालीन नेकपामा एक्लै हुनुपर्दा ओलीलाई साथ नदिएको लगायतका कारण एमालेका ती नेताले गौतमसँग मिल्न नहुने बताउन थालेका छन्।
तर, यसपटक ओली गौतमसहितका नेता एमालेमा भित्र्याउनबाट रोकिने पक्षमा छैनन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केही दिनमै गौतमलाई भित्र्याउनेबारे निर्णय हुनसक्ने बताए।
‘उहाँलाई पार्टीले कारबाही गरेको होइन, माधव नेपाल कमरेडले जस्तो पार्टी विभाजन गर्नुभएको पनि होइन,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘सबै वाम मिल्नुपर्छ भनेर एकता अभियान चलाउनु भएको हो। फेरि एमालेमा फर्किएर पार्टीमै सक्रिय भूमिका लिन चाहनुभएको छ। उहाँका लागि ढोका खुलै छ। अब सबै कुरा प्रधानमन्त्री र उहाँ बसेर टुंगो लाग्ला।’
Shares

प्रतिक्रिया