राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले अहिले रास्वपा सभापति पक्राउ पर्नुअघिकै अवस्थामा रहेको दाबी गरेका छन्।
सभापति रवि लामिछानेले आफ्नो कानुनी लडाइँ लडिरहँदा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको उनको भनाइ छ।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘रास्वपा फैलँदो अवस्थामा छ। यो आफैँमा संस्था बनिसकेको छ। त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाइँ लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ। अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ। कमजोर छैन।’
सभापति लामिछाने काठमाडौँसहित पाँच जिल्लामा सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका छन्। उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि छ। सम्पत्ति शुद्कीकरणको अभियोगकै कारण लामिछाने सांसद पदबाट निलम्बनमा परेका छन् र पार्टी सभापतिको जिम्मेवारीबाट पनि अलग हुनुपरेको छ।
यी कुराले पार्टीलाई कुनै असर नगर्ने अर्यालको दाबी छ।
उनको भनाइ छ, ‘पार्टी सभापतिले कानुनी लडाइँ लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौँ। त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसह गर्नु नै हो। मुद्दालाई अपनत्व दिनु हो। त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ। र, आउँदो अधिवेशन (संसदको) बाट राम्रो उपस्थिति देखाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। रास्वपामाथिको चिन्ता र अविश्वासको अन्त्य गर्नको लागि पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ।’
Shares

प्रतिक्रिया