ad ad

राजनीति


ज्ञवाली–जयशंकर वार्ता, सीमा बन्द होइन निगरानीमात्र बढाउने

ज्ञवाली–जयशंकर वार्ता, सीमा बन्द होइन निगरानीमात्र बढाउने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १६:१२,

कोरोना भाइरस संक्रमण रोक्न भारतसँग खुला सीमा बन्द नहुँदा दक्षिणी सीमबाट नेपालमा साे राेग प्रवेश गरी संक्रमण फैलिन सक्ने व्यापक त्रास भइरहेका बेला दुई देशका परराष्ट्र मन्त्रीबीच छलफल भएकाे छ। 

साे छलफलमा भने सीमामा निगरानी प्रभावकारी बनाउनेबारे मात्र छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस. जयशंकरबीच शुक्रबार अपरान्ह भएको टेलिफोन संवादमा सीमा बन्द नगरी सीमामा निगरानी बढाउने विषयमा छलफल भएको हो।

दुवै मन्त्रीले भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउन जोड दिएका छन्।

‘दुवै मन्त्रीद्वारा वस्तु तथा औषधिको दुवै देशतर्फ सहज आपूर्तिलाई कायम राख्न जोड दिइएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ सँग सम्बन्धित खतरा र संवेदनशिलतालाई न्युन गर्नका लागि सीमामा प्रभावकारी निगरानी गर्नेबारे छलफल भएको छ।’

भारतमा कोरोेना भाइरसबाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि नेपालमा दक्षिणी छिमेकीसँगको खुला सीमाबाट संक्रमित व्यक्ति प्रवेश हुनसक्ने र नेपालमा पनि सो संक्रमण फैलिन सक्ने त्रास बढेको छ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा मात्रै कोरोनाबाट संक्रमितको संख्या १२ पुगेको भारत सरकारले जनाएको छ। त्यसैगरी पश्चिम बंगाल राज्यमा एक जनामा संक्रमण देखिएको छ। अर्को सीमा जोडिएको राज्य बिहारले संकटकालको घोषणा गरेको छ।

दुवै देशका परराष्ट्र मन्त्रीबीच छलफल भएपछि आएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा पनि सीमामा स्वास्थ्य जाँचको व्यवस्था मिलाउने कुरामात्र उल्लेख छ।

‘सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्।

कोरोना संक्रमण फैलिएपछि अहिले दुई देशबीच आवागमनका लागि चार वटा नाकामात्र खुला गरिएको छ। तर सीमामा प्रभावकारी रुपमा स्वास्थ्य जाँच नभएको भन्दै सीमा क्षेत्रकै समुदायले समेत आलोचना गरेका छन्।

अहिले झापाको काकड्भिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको सुनौली र कञ्चनपुरको बनवासा नाकाबाट मात्रै आवागमन गर्न पाइने गरी व्यवस्था गरिएको छ।

भारतद्वारा चिकित्सक र विज्ञ टोली पठाउने प्रस्ताव्
त्यसैगरी भारतले नेपालमा कोरोना भाइरस रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको टिम पठाउने प्रस्ताव गरेको छ।

‘चिकित्सक तथा विशेषज्ञहरुको र्‍यापिड रेस्पोन्स टिमसहितका विषयमा सहयोग गर्न भारतले सहयोगका लागि गरेको प्रस्तावलाई नेपालका परराष्ट्रमन्त्रीले धन्यवाद व्यक्त गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

भारतीय विदेशमन्त्री जसशंकरले नेपालले सहयोगका लागि गरेको आग्रहमा सकारात्मक जवाफ दिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .