वामदेव गौतम ‘नेकपा एकता अभियान’लाई एमालेमा समाहित गर्न हतारिए पनि एमाले प्रवेशका लागि उनले अझै केही समय धैर्य गर्नुपर्ने भएको छ।
तत्काल एकताको साटो ‘सहकार्य गर्ने’ एमाले केन्द्रीय सचिवालयको निर्णयसँगै ‘एमाले नेता’ बनिहाल्ने गौतमको सपना तुरुन्त पूरा नहुने भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (८ माघ) बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले गौतम समूहसँग ‘सहकार्य गर्ने’ निर्णय मात्र गरेको थियो।
‘सहकार्य गर्ने एमालेको निर्णयलाई हामीले अन्यथा ठानेका छैनौँ,’ गौतम नेतृत्वको ‘नेकपा एकता अभियान’ का सचिव डीबी कार्कीले भने, ‘तर, छिटो मिल्नुपर्छ भन्नेमा हामीले जोड दिएका छौँ। किनकि, रात रहे अग्राख पलाउँछ।’
खासमा गौतम समूह एमालेमा भित्रिँदा लाभ–हानि के हुन्छ, त्यो हेरेर मात्र अन्तिम निर्णयमा पुग्न एमाले सचिवालयले गौतमसँग ‘सहकार्य गर्ने’ निर्णय गरेको हो।
‘सहकार्य भनेको एकताको प्रस्थान विन्दु हो, केन्द्रीय सचिवालयले गौतमको सन्दर्भमा उपरोक्त निर्णय गरेर एकता प्रक्रियाको सुरुवात गरेको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अब उहाँको समूहको बारेमा थप कुरा बुझ्ने काम हुन्छ। सबै कुरा बुझिसकेपछि एकताको अन्तिम टुङ्गोमा पुग्नेछौँ।’
सचिव कार्कीका भनाइमा फरक–फरक पार्टी भएकाले एमाले र अभियानका फरक–फरक नीति, सिद्धान्त र कार्यक्रम छन्। त्यसमध्ये कतिपय विषयमा अहिल्यै समानता कायम गर्नुपर्ने हुन्छ, कतिपय महाधिवेशनबाट निर्णय गरिनेछ।
‘त्यसबाहेक कसलाई के जिम्मेवारी दिने भन्ने कुरा पनि टुङ्ग्याउनुपर्ने स्थिति छ,’ कार्कीले भने, ‘यी सबै काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले सहकार्य गर्ने भनिएको होला।’
खासमा गौतम दुई वर्षअघिदेखि नै एमाले जान इच्छुक थिए। तर, एमाले त्यतिबेला गौतमलाई पार्टीमा भित्र्याएर अध्यक्ष ओलीको एकछत्र नेतृत्वमाथि चुनौती सिर्जना हुन दिने पक्षमा थिएन।
तर, यसपटक ओलीको सत्तारोहणसँगै राष्ट्रिय सभामा सत्तापक्षको बहुमत जुटाउन गौतमको आवश्यकता पर्यो। त्यही कारण एमालेका लागि गौतमको महत्त्व बढ्यो। यही मौका पारेर गौतमले आफ्नो समूहलाई एमालेमा समाहित गर्न चाहेका हुन्।
कार्कीका भनाइमा गौतमले आफूहरू बिनासर्त एमालेमा समाहित हुन चाहेको बताएका छन्। आफ्नो जिम्मेवारी र पदसमेत पछि तय गरे पनि हुने बताएका छन्।
गौतमले यस्तो बताए पनि उनको अस्थिर स्वभाव र उनको समूहलाई समाहित गर्दा आउन सक्ने समस्याप्रति एमाले सचेत देखिन्छ। खासगरी गौतम समूहले जिम्मेवारी (पद) का लागि गर्ने सौदाबाजीबारे एमाले पक्ष सतर्क रहेको बुझिन्छ।
‘उहाँहरूको संगठन के कस्तो छ, कस्ता–कस्ता मान्छे छन्, उनीहरूको क्षमता–योग्यता के हो, एकताअघि यी सबै कुरा बुझ्नुपर्ने हुन्छ,’ एमाले प्रचार विभाग प्रमुख गौतमले भने, ‘उहाँहरूले उपरोक्त सबै विवरण बुझाएपछि मात्र एकताबारे निर्णय गर्न सजिलो हुनेछ।’
एमालेमा फर्कने यसपटकको निर्णयअघि गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर सामीप्य देखाएका थिए। गौतमलाई तेस्रो वरीयता दिएर भित्र्याउने पक्षमा अध्यक्ष माधव नेपाल रहे पनि उनको समूहको सांगठनिक अस्तित्व खासै नरहेको र गौतमको स्वभावले पनि समस्या पार्नसक्ने विश्लेषणका साथ अन्य नेताहरूले गौतमलाई पार्टीमा भित्र्याउने विषयमा निर्णयमा पुग्नुअघि धेरै विचार गर्नुपर्ने सुझाव दिएका थिए।
नेकपा बन्नुअघि गौतम एमालेको वरिष्ठ उपाध्यक्ष थिए। यस हिसाबले एमालेमा समाहित भएपछि गौतमलाई उपल्लो तहकै जिम्मेवारी दिने विषयमा त समस्या नहोला। तर आफ्नो समूहका अन्य व्यक्तिहरूलाई दिइने जिम्मेवारीका लागि गौतमले के–कस्तो सौदाबाजी गर्छन्, त्यसले एमालेलाई पिरोलेको देखिन्छ।
जानकारहरूका भनाइमा गौतमसँग उनी आफू, एमालेकी पूर्वसांसद रहेकी गौतमपत्नी तुलसा र पूर्व संविधान सभा सदस्य डीबी कार्कीबाहेक नाम उल्लेख गर्नलायक अन्य नेताहरू नै छैनन्।
तर, गौतमलाई एमालेमा समाहित गरेपछि यी तीन नेतालाई मात्र जिम्मेवारी र अवसर दिएर पुग्दैन। किनकि, ‘एकता’का क्रममा गौतमले ‘नेकपा एकता अभियान’ को ठूलो सूची थमाउने पक्का छ।
सचिव कार्कीका अनुसार ‘नेकपा एकता अभियान’को केन्द्रीय समिति ९० सदस्यीय छ। यसमध्ये ८६ जना गौतमको साथमा छन्।
यसैगरी काठमाडौँ र सुर्खेतजस्ता महत्त्वपूर्ण जिल्लासहित १७ वटा जिल्लामा कमिटी रहेको कार्कीले जानकारी दिए।
‘केन्द्रीय सल्लाहकार १३ जनाको छ, राष्ट्रिय परिषद् १७ जनाको छ,’ कार्कीले थपे, ‘हामी एमालेमा जाने निसर्त नै हो। एमालेमा हामीलाई योग्यता, क्षमता, इतिहास र पृष्ठभूमिका आधारमा जिम्मेवारी दिइनेछ भन्ने अपेक्षा रहन्छ।’
एमाले अध्यक्ष ओलीसँगको कुराकानीमा आफूहरू निसर्त रूपमा एमालेमा आउने र त्यहाँ आएपछि गर्ने कामका आधारमा जिम्मेवारी तय गरे हुने बताएका थिए। यति हुँदाहुँदै पनि एमाले सचिवालयले गौतमसँग अहिलेका लागि ‘सहकार्य गर्ने’ जुन निर्णय गर्यो, त्यसले गौतमको हतारोमा ब्रेक लगाउने काम गरेको छ।
Shares

प्रतिक्रिया