नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज माघ ८ गते उम्मेदवारी दर्ता गरिँदै छ।
सम्मेलनअन्तर्गतको निर्वाचन समितिका संयोजक मुक्ति प्रधानका अनुसार सबै प्रदेशमा अनलाइन मनोनयनको व्यवस्था गरिएको छ।
जसअनुसार बिहान ८ बजे उम्मेदवारी अर्थात् मनोनयन दर्ता सुरु भएको छ भने यो साँझ ६ बजेसम्म जारी रहनेछ।
उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने बताइएको छ।
८ गते मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतकालिका छ। माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने सोही दिन बिहान ११ बजेपछि दाबी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ।
१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । माघ १२ गते विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ।
प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिएका छन् ।
केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ।
जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन्।
गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।
यसलाई गत पुस १३ गते मतदानमार्फत ३२ वर्षे उमेर हद लगाउने नीति बहुमतले पास गरिएको थियो।
Shares

प्रतिक्रिया