हुन त अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदै छ। तर, विद्यार्थी नेताभन्दा बढी नेकपा माओवादी केन्द्रका पदाधिकारीलाई यो चुनाव लागेको छ।
अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लागू गरेपछि अध्यक्षमा दाबी गरिरहेका नेताहरू बाहिरिएका छन्। क्रान्तिकारीमा अहिले उपमहासचिव, सचिव रहेकाहरूले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
यसपटक विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल मुख्य प्रतिस्पर्धामा छन्। सापकोटा उपमहासचिव, पौडेल उपमहासचिव एवं गण्डकी अध्यक्ष र राई उपमहासचिव र कोसी प्रदेश अध्यक्ष हुन्।
यस्तै, उपदेश यादव, विराज थापा, रोशन थापामगर पनि अध्यक्षमै उम्मेदवारी दिने तयारी रहेको बताउँछन्।
पार्टीका नेतासँग निकट नरहेका अध्यक्षका नयाँ आकांक्षीलाई माओवादीका पदाधिकारीले समर्थन गरेका मात्र छैनन्, लबिइङसमेत गर्दै हिँडेका छन्। जसमध्ये माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा अग्रपंक्तिमा छन्।
क्रान्तिकारीका नेताहरूले नेपालखबरलाई बताएअनुसार पुनले सुदिन पौडेललाई समर्थन गरेका छन् भने शर्माले हेमन्त राईका पक्षमा वकालत गरिरहेका छन्।
अन्य पदाधिकारीले पनि आफ्नाआफ्ना उम्मेदवार तय गर्दैछन्। क्रान्तिकारीको नयाँ नेतृत्वका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन छन्। उनी नेताहरूका गतिविधि नियालिरहेका छन्। यद्यपि, प्रचण्डको समर्थन लिन दोस्रो तहका नेताहरू प्रयासरत छन्।
‘वर्षमानले सुदिनलाई र जनार्दनले समर्थन गर्ने हेमन्त राईलाई हो,’ एक नेताले भने, ‘अहिलेसम्म प्रचण्ड तटस्थ र मौन हुनुहुन्छ।’
क्रान्तिकारीको नेतृत्व चयनका लागि माघ १२ गते चुनाव हुँदै छ।
पुन र शर्माले आफूले समर्थन गरेकैलाई सर्वसम्मत अध्यक्ष बनाउन पहल गरिरहेका छन्। उनीहरूबीच पटकपटक छलफल भएको छ। तर, अध्यक्ष आफ्नो पक्षका विद्यार्थीले पाउनुपर्ने अडान नछाडेपछि सहमति हुने सम्भावना न्यून हुँदै गएको छ।
‘अब प्यानलै खडा गरेर चुनावमा जान्छौँ,’ हेमन्तलाई सहयोग गरिरहेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘उच्च जनवाद प्रयोग गर्ने हो। जति मत आए पनि ढ्वाङ थापिन्छ।’
पुनले भने प्रचण्डको पनि विश्वास लिने गरी नयाँ उम्मेदवार अगाडि सारेका छन्। पुननिकट नेताहरू पौडेलका पक्षमा माहोल राम्रो बनेको दाबी गर्छन्।
‘अध्यक्षले जसलाई टिकट दियो उसैलाई समर्थन हुन्छ भनेर अनन्त सरले भन्नुभएको छ,’ उनीनिकट एक विद्यार्थी नेताले भने, ‘तर, उहाँको समर्थन सुदिनलाई छ। जनार्दन सरको भन्दा विपरीत समूहलाई समर्थन गर्नुहुन्छ, त्योचाहिँ पक्का हो।’
हेमन्त १९औँ सम्मेलनदेखिका पुराना र सिनियर भएकाले उनी बलियो उम्मेदवार रहेको उनी पक्षका नेताको भनाइ छ।
‘काका समूह’
रोचक कुरा के छ भने ३२ वर्ष उमेर पार गरेर विद्यार्थी राजनीतिबाट बिदा हुँदै गरेको समूहलाई क्रान्तिकारीभित्र कतिपयले ‘काका समूह’ भनेर नामकरण गरिदिएका छन्। उमेर हद लगाउने कि नलगाउने चुनाव हुँदा लगाउनुपर्ने पक्षले जितेको थियो।
क्रान्तिकारीबाटै बिदा भएकाहरूले छुट्टै उम्मेदवार खडा गरेर प्रचण्डलाई मनाउने प्रयास गरिरहेका छन्। उनीहरूले विजयप्रकाश सापकोटालाई समर्थन गरेका छन्। सम्भवतः उनीहरूका पक्षबाट उनी नै आधिकारिक उम्मेदवार हुने नेताहरू बताउँछन्।
‘काका समूह’ भनिएकामा अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएका केशव रावलले असन्तुष्टि जनाए।
‘सुदिन र हेमन्तले काका समूह नाम राखेर अत्यन्त अपमानजनक ढंगले व्यवहार गरे,’ उनको गुनासो छ, ‘उनीहरू त्यसरी आए, हामी दुईवटाकै पक्षमा छैनौँ।’
उमेर हदकै कारण बाहिरिएकाको संख्या झण्डै १४० छ।
‘हेडक्वार्टरले जो फाइनल गर्छ, हामीले त्यसैलाई सहयोग गर्ने भनेका छौँ,’ रावलले भने, ‘तटस्थ होइन अध्यक्षले उम्मेदवार फाइनल गर्नुहुन्छ। हामी त्यही मान्छेलाई बोक्छौँ।’ ‘यसपटक अखिल क्रान्तिकारीको चुनावमा जनार्दन शर्मा र वर्षमानको कडा टक्कर पर्ने देखिन्छ,’ माओवादी केन्द्रका ती नेताले नेपालखबरसँग भने, ‘काका समूहबाट पनि राम्रै व्यक्ति उठाउने भएकोले तीव्र प्रतिस्पर्धा पनि हुनसक्छ।’
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले क्रान्तिकारीमा अध्यक्षको दाबेदार धेरै भएकाले चुनाव नै गर्नुपर्ने अवस्था रहेको बताए।
‘विद्यार्थी संगठनमा उठ्न खोज्ने धेरै हुनुहुन्छ, प्रतिस्पर्धा गर्ने अवसर दिनुपर्यो,’ उनले भने, ‘जनवादलाई त रोक्न मिलेन। यद्यपि नेताहरूले सहमतिको प्रयास गरिरहनुभएको छ।’
प्रचण्डको चासो
यसपटक अध्यक्ष प्रचण्डले चुनावमा उतिधेरै ध्यान दिएका छैनन्। तथापि उनको चासो नेतृत्वमा को आउँछ भन्नेमा छ।
पछिल्ला दिन पार्टीप्रति बढ्दै गएको जनलहर र अभियानका कार्यक्रम सुरु गर्नुपर्ने भन्दै सकभर संगठक र बौद्धिक व्यक्तिलाई अगाडि सारिनुपर्ने संकेत भने उनले गरेका छन्।
उपमहासचिवद्वय पुन र शर्माले समर्थन गरेकै समूहबीच चुनाव हुने देखेपछि प्रचण्डले आइतबार (माघ ६) गते खुमलटार बोलाएर दुवै जनासँग छलफल गरे। र, सकभर सहमति गरेर जान उनले सुझाव दिए।
‘चुनाव गर्दा कुनै पक्ष बिच्किने अवस्था आउन नदिनुहोला, सकभर सहमतिमै नेतृत्व चयन गर्ने वातावरण बनाउनुहोला,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले नेपालखबरसँग भने।
प्रचण्डसँगको भेटमा उपमहासचिव पुनले क्रान्तिकारीको अध्यक्ष प्रचण्डकै रोजाइका व्यक्तिलाई बनाउन प्रस्ताव गरे। आफूले उपाध्यक्ष पद लिने र शर्मा पक्षलाई महासचिव पद दिन सकिने राय उनले दिए।
भेटमा अर्का उपमहासचिव शर्माले भने आफ्नो कोही प्रतिस्पर्धी नभएको जवाफ दिए। हेडक्वार्टरले जसलाई अघि सार्यो, त्यसैलाई समर्थन गर्ने उनको भनाइ थियो।
पुन भने आफ्नो समर्थन रहेका पौडेललाई नै अध्यक्ष प्रचण्डले पनि समर्थन गर्नेमा आशावादी रहेको उनीनिकट नेता बताउँछन्।
तेस्रो तहबाट अध्यक्ष छान्नुपर्ने भएकाले नेतृत्वका आकांक्षीहरू प्रचण्डको विश्वास जित्ने कोसिसमा छन्। प्रचण्डसँग सिधै भेट्न पहुँच नभएकाहरू पदाधिकारीको साथ लागेर लबिइङ गरिरहेका छन्।
Shares

प्रतिक्रिया