नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ।
सर्वसम्मतिको प्रयास सफल नभएपछि पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गरेको हो।
बेलकोटगढी नगरकमिटीको तेश्रो सम्मेलन गत २५ पुसमा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन।
निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समितिको अध्यक्षमा निर्वाचित भए। कूल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ।
न्यौपानेविरुद्ध माओवादी पोलिट्ब्युरो सदस्य एवं सांसद् हितबहादुर तामाङ, अर्की सांसद् एवं केन्द्रीय सदस्य विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ र बोलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङ खुलेरै लागेका थिए। जिल्ला इन्चार्ज हिरानाथ खतिवडाले भने न्यौपानेलाई सघाए।
अध्यक्ष न्यौपानेले आफूहरुले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यसपटक त्यो प्रयोग भएको बताए। उनले निर्वाचनमा पार्टी सत्ता र राजकीय सत्ताको दुरुपयोग भएको आरोप लगाए।
‘मैले जितेको भन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व चुन्नुपर्छ भन्ने मान्यताको जितको रुपमा लिएको छु’, न्यौपानेले भने, ‘भूईं मान्छे भर्सेस पार्टी सत्ता र राजकीय सत्ताजस्तो भयो, रमाइलै लागेको छ।’
यस्तै, उपाध्यक्षहरूमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए। सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगरसमिति भने सर्वसम्मत चयन भएको थियो। पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरू मतदाता थिए।
Shares

प्रतिक्रिया