राष्ट्रिय जनमोर्चाले चैत २४ देखि गर्न लागेको राजधानी केन्द्रित आन्दोलनका लागि माघ महिनाभर प्रचारात्मक कार्यक्रम गर्ने भएको छ।
शनिबार काठमाडौंको कपनस्थित जनमोर्चा केन्द्रीय कार्यालयमा भएको अगुवा कार्यकर्ता भेलाले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा अन्तरक्रिया, सभा, कोणसभालगायतका कार्यक्रम तय गरेको जनमोर्चाले जनाएको छ।
संघीयताविरुद्ध प्रचारात्मक अभियान अन्तर्गत माघ १६ गते बागबजारमा अन्तरक्रिया कार्यक्रम निश्चित गरिएको छ।
त्यस्तै, प्रत्येक हप्ता एकभन्दा बढी कोणसभाका कार्यक्रम पनि भेलाले निश्चित गरेको छ। त्यस क्रममा माघ ९ गते नागार्जुन नगरपालिकाको राधाकृष्ण मन्दिरचोकमा, माघ १२ गते नागार्जुनकै फस्कुचोकमा, माघ १९ गते चाबहिल चोकमा, माघ २३ गते गोङ्गबुचोकमा, माघ २६ गते तारकेश्वरको गोलढुङ्गा र माछापोखरी चोकमा, माघ ३० गते कोटेश्वर चोकमा, फागुनमा भक्तपुरका दुई स्थान र ललितपुरमा सभा निश्चित गरिएको छ।
यसैगरी रामेछाम, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुरमा पनि कार्यक्रम आयोजना गरिएको अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् संविधान सभाका सदस्य मीना पुनले जानकारी दिइन्।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशका लागि संघीयता खारेजी अपरिहार्य आवश्यकता भएको बताए।
संघीयताका कारण आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुगेको, राष्ट्रियता कमजोर बनेको र प्रदेश संरचनाका कारण स्थानीय तहले अधिकार प्रयोग गर्न नपाएका कारण जनतामा निराशा बढेको दाबी गरे।
जनमोर्चाले आगामी चैत २४ गतेदेखि राजधानी काठमाडौंमा संघीयता विरुद्ध सप्ताहव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
Shares

प्रतिक्रिया