राजनीति


स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : प्रमुख आयुक्त थपलिया

स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : प्रमुख आयुक्त थपलिया

नेपालखबर
माघ ५, २०८१ शनिबार १४:३०, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताएका छन्। 

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा त्यस्तो प्रस्ताव गरेको बताए।

‘स्थानीय तहको मतपत्र छुट्टै भएन, अस्ति हामीले उपनर्विाचनमा प्रयोग गरेर हेर्‍यौँ,’ थपलियाले भने, ‘त्यसमा हामी सफल भयौँ। अबको कानूनमा पनि छ। स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ। त्यो पास भए आयोगलाई बाध्यता हुन्छ।’

उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उल्लेख गरे। ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ,’ थपलियाको मत छ, ‘समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन। समानुपातिक भनेको अहिलेको ठूलो उपलब्धि हो। हाम्रो लोकतन्त्र भनेको समावेशी लोकतन्त्र हो। समावेशितालाई बाहिर राखेर कुनैपनि कानुन बनाउन सकिँदैन।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताए। उनले छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि स्थानीय तहको निर्वाचन प्रदेशले गर्नेगरी व्यवस्था गर्न सकिने उल्लेख गरे। 

‘अहिलेको कानुनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो छ,’ थपलियाले भने, ‘अमेरिकामा सबै त्यहाँ स्टेटले चुनाव गराउँछ। स्थानीय तहको चुनाव भारतमा त्यहाँको स्टेटले गर्दछ। हामी किन नगर्ने? त्यसकारण अहिलेको कानुनबाट हामीले यो चाहीँ स्थानीय तहको चुनाव प्रदेशबाट चुनाव मात्रै गर्ने, केन्द्र र प्रदेशको चुनाव केन्द्रबाट गराउने गरी जान सकिन्छ। यसमा आयोगको कुनै आपत्ति छैन। तर अहिलेको कानुन फेर्नुपर्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता मिच्ने र आयोग त्यसलाई मान्नुपर्छ भनेर छाता बोकेर ओढाउँदै हिँड्ने जस्तो अन्तरसम्बन्ध संसारमा कतैपनि नरहेको जिकिर गरे। उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा समेत जोड दिए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad