खेल


यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

यू-१९ महिला विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

नेपालखबर
माघ ५, २०८१ शनिबार १५:१, काठमाडौँ

यू-१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। 

मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्‍यो।

बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए। त्यस्तै नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन्। 

नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एक-एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको थियो। कुल १८.२ ओभरसम्म मात्रै खेलेका नेपालका खेलाडीहरु साना प्रविन र सीमाना केसी बाहेक कसैलै पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। 

३० रन जोड्दा नेपालका आधा खेलाडी पेभिलियन फर्किसकेका थिए। ओपनर सावित्री धामी १, कप्तान पुजा महतो २, सोनी पाख्रिन र किरन कुँवरले १ रन मात्रै बनाए।

साना प्रविनले १९ रन जोडिन् भने सीमाना केसीले १० रन बनाइन्। त्यस्तै अलिशाकुमारी यादवले ४ रन, तिर्सना विश्वकर्मा ३, अनु कठायत ०, रचना चौधरी ३ र रिया शर्माले ५ रन मात्रै बनाउन सके। 

नेपालमा ६ खेलाडी रनआउटको शिकार हुँदै बाहिरिएका थिए। 

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू-१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो। 

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर-६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad