सरकारले अनिवार्य गर्न लागेको राष्ट्रिय परिचयपत्रको बारेमा राज्यव्यवस्था तथा सुशासन समितिले आज गृहमन्त्रीसँग छलफल गर्दैछ।
गृहमन्त्री रमेश लेखकसँग छलफलका लागि शुक्रबार दिउँसो १२ बजे समितिको बैठक बोलाइएको राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए।
‘राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नाममा सरकारले नागरिकलाई दुःख दिएको गुनासो व्यापक रुपमा आएको छ,’ खतिवडाले नेपालखबरसँग भने, ‘अहिले एउटै नागरिकले राष्ट्रिय परिचयपत्र, नागरिकता, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा भत्ताको कार्ड, सवारी लाइसेन्स जस्ता परिचयपत्र बोक्नुपर्ने बाध्यता छ।’
एकै व्यक्तिले धेरैवटा परिचयपत्र बोक्नुपर्ने बाध्यताले नागरिकलाई अनावश्यक झन्झट दिने काम भएकाले यसलाई कसरी सरल बनाउन सकिन्छ भनेर गृहमन्त्रीसँग छलफल गर्न लागिएको खतिवडाले बताए।
त्यसैगरी प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दै छ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल हुने बताइएको छछ।
बैठक बिहान ११ बजे बस्ने सिहंदरबारस्थित समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ। यसैगरी, बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ।
शिक्षा समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया