राजनीति


देउवा नबोल्दा सरकारमा एमाले हाबी हुन थालेको कांग्रेस नेताहरूको गुनासो

देउवा नबोल्दा सरकारमा एमाले हाबी हुन थालेको कांग्रेस नेताहरूको गुनासो

सागर न्यौपाने
माघ ३, २०८१ बिहिबार २०:४९, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनको भावना अनुसार नचलेको बताएका छन्।

बिहीबार देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमिति र मन्त्रीसहितको बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीबाट हस्तक्षेप हुने गरेको गुनासो गरेका थिए। केही नेताहरूले सरकारी नियुक्तिमा चित्त दुखाएका थिए।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको प्रतिरक्षामा बोलेका थिए।

सभापति देउवा प्रधानमन्त्री बन्ने चाहनामा मौन बसिदिँदा एमालेले मन्त्रालय, विकास समिति लगायत मुख्य ठाउँहरूमा सूक्ष्म व्यवस्थापन गरेको कांग्रेसका नेताहरूले नेपालखबरसँग बताए।

बैठकमा कांग्रेसका नेता तथा मन्त्रीहरूले भूमि आयोगका जिल्ला पदाधिकारी नियुक्तिमा समेत एमाले हाबी भएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। 

बैठकमा कांग्रेसका २ महामन्त्री, २ राज्यमन्त्रीसहित १२ मन्त्री, दलका नेता, प्रमुख सचेतक र सचेतक लगायत थिए। कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला, प्रतिनिधि सभा प्रमुख सचेतक श्यामकुमार घिमिरे र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्री ओलीबाट सहमति पालना नभएको कुरा उठाए। 

मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषदमा उपाध्यक्ष नियुक्त गर्ने आफ्नो प्रस्ताव ओलीले फिर्ता पठाएको देउवालाई जानकारी गराए।  

‘मन्त्रालयबाट मैले लगेको फाइल मिल्काइदिएर प्रधानमन्त्रीले हस्तक्षेप गरेर आफ्नै मानिस राख्नुभएको छ,’ चौधरीले भने, ‘काम गर्ने सवालमा प्रधानमन्त्रीबाट अनावश्यक दबाबको महसुस भएको छ। उहाँ नै हाबी हुनुभयो। यो गठबन्धनको सरकार अनुसार भएन।’

खेलकुद परिषद् उपाध्यक्षमा कांग्रेस निकट एक व्यक्तिलाई  सिफारिस गरेर मन्त्री चौधरीले मन्त्रिपरिषदमा लगेका थिए, तर प्रधानमन्त्री ओलीले फर्काइदिएर पछि एमालेकै उपाध्यक्ष बनाएको उनको भनाइ छ। 

‘प्रधानमन्त्री ओलीले कहाँ–कहाँ सल्लाह गर्नुभयो थाहा भएन। तर, सदस्यसचिव कांग्रेसको बनाउने, उपाध्यक्ष एमालेको बनाउने भनेर भागबण्डा गर्नुभएछ र आफ्नो मान्छे सेट गरिहाल्नुभयो जबकि सदस्यसचिव त खाली भएको छैन,’ उनले थपे, ‘प्रधानमन्त्री सबै विश्लेषण गरेर आफ्ना मान्छे सेट गर्नेगरी चल्नुभएको छ, उहाँले आफ्नो पार्टीले लिएको मन्त्रालय मात्र होइन, कांग्रेसकै मन्त्रालयमा पनि आफू हाबी हुन थाल्नुभएको छ।’

राष्ट्रिय सभामा कांग्रेसका दलका नेता सिटौलाले झापामा भूमि आयोगको अध्यक्ष एमालेलाई दिएकोमा असन्तुष्टि जनाए। झापामा तिलक पाण्डेलाई भूमि आयोगको अध्यक्ष बनाउने भन्दै कांग्रेसले समझदारी गरेको थियो। 

उनी यसअघि पनि अध्यक्ष थिए तर, कांग्रेस–एमाले गठबन्धन बनेपछि सरकारले सबै जिल्लाका अध्यक्ष हटाउँदा उनी पनि परेका थिए। त्यसविरुद्ध उनले अदालतमा मुद्दा हालेका थिए।

उनले मुद्दा जित्ने निश्चित भएपछि उनको मुद्दा फिर्ता लिन लगाइएको नेताहरू बताउँछन्। 

तर, पुस २६ गते भूमि व्यवस्था मन्त्रालयले ७७ वटै जिल्लामा भूमि आयोगको अध्यक्ष सहितको पदाधिकारी नियुक्त गर्दा झापा, मोरङ एमालेको भागमा परेपछि कांग्रेस नेताहरू असन्तुष्ट छन्।  

‘अरु त साथीहरूले भन्नुभएकै छ, हालै मात्र भूमि आयोगको अध्यक्ष नियुक्त गर्दा झापा, मोरङ लगायतका केही जिल्लामा पूर्वसहमति पालना भएन,’ सिटौलाले बैठकमा भने, ‘उहाँहरूले नीतिगत रुपमा पाउनुपथ्र्याे, किनभने पार्टीले अध्यक्ष बनाउने प्रतिबद्धता जनाएर मुद्दा फिर्ता गर्न भनिएको थियो। तर, अध्यक्ष अर्कैलाई बनाएपछि साथीहरू रुष्ट हुनुहुन्छ।’

जबकि उनकै पक्षमा अदालतले स्टे अर्डर जारी गरेकोले अर्काे अध्यक्ष बनाउने सक्ने अवस्था थिएन। 

कांग्रेस–एमालेकै नेताहरूले छलफल गरेर मुद्दा फिर्ता लिन लगाएको उनले बताए। 

‘प्रधानमन्त्रीको जिल्ला, उहाँले मान्नुभएन भनेर एमालेको अध्यक्ष बनाइएको सुनिएको छ, यो कदम गठबन्धनको मर्म अनुसार भएन,’ सिटौलाले थपे।

प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि एमाले नेताको व्यवहारसँग असन्तुष्ट देखिए। 

‘मेरो आफ्नै गुनासो छ, नियम, कानुन, प्रक्रिया मिचेर गर्दिए। सबै एमालेबाट राखेछन्, एउटा महिला सदस्य मात्र पारेछन्,’ घिमिरेको भनाइ थियो, ‘जसको शक्ति त्यसको भक्ति भयो। राम्रो काम भएन। सबैतिर थाहा भएन तर, हाम्रोतिर अन्यायपूर्ण ढंगले काम भयो।’

सिटौला, घिमिरेलाई जवाफ दिँदै देउवाले गठबन्धनमा हुने यस्ता कुरालाई सहज स्वीकार्नुपर्ने बताए। उनले मन्त्रीहरूलाई देखिनेगरी काम गर्न निर्देशन पनि दिए।

‘गठबन्धनमा हुँदा कहिले पाइन्छ, कहिले पाइँदैन। किन यस्तो कुरा गर्नुभएको। यो त गठबन्धनको कुरा हो। झापा पाएन त सुनसरी पाइयो,’ मन्त्रीलाई निर्देशन दिँदै उनले थपे, ‘सरकारले राम्रो काम गर्नुपर्‍यो, जनताले महसुस हुनेगरी काम गर्नुपर्‍यो।’ 

संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच अन्तर्क्रिया होस्, मन्त्रीहरूको कामको बारेमा सांसदहरू र दलले पनि थाहा हुनुपर्छ भनेर राखिएको बैठकमा देउवा एमालेप्रति नरम भएपछि मन्त्री र नेताहरूले थप गुनासो गर्न नचाहेको बताउँछन्।

‘हाम्रो सभापतिजी वेटिङ प्राइममिनिस्टर भनेर नबोल्नु भएको हुनसक्छ,’ एक मन्त्रीले भने, ‘त्यही भएर आजको बैठकमा पनि सरकारको डिफेन्स गर्ने कुरा गर्नुभयो। मन्त्रीहरूलाई कामको गति बढाउन भन्नुभयो।’

गृहमन्त्री रमेश लेखकले पनि कांग्रेस र एमालेबीच कुनै समस्या नभएको दाबी गरे।

‘दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरू छैनन्। आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्ने कुरामा छलफल भयो,’ लेखकले भने, ‘एमाले र कांग्रेसको बीचमा बनेको ७ बुँदे सहमतिमा केन्द्रित हुने र काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि,  सुशासन कायम गर्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad