सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै यसका लागि राष्ट्रिय सहमति जटाउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘संविधानका कमीकमजोरी सुधार गर्न आवश्यक छ। संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट छ’, उनले भने, ‘यसका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्छ।’
यस क्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी पनि गरे।
‘अहिलेको गठबन्धनको सरकारले सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्छ’, साउदले भने, ‘यसका लागि नेपाली कांग्रेसले सहयोग गरिरहेको छ र काम गर्न नसक्दा खबरदारी पनि गरिरहने छौँ।’
सरकारका कामको मूल्यांकन विभिन्न तहमा भइरहेको उल्लेख गर्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य साउदले पार्टीको आन्तरिक संरचनामा सरकारको कार्यसम्पादनको मूल्यांकन उपयुक्त समयमा हुने धारणा राखे।
मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहामा निस्किएको उनको भनाइ छ।
‘सरकार बनाउँदा ७ बुँदे सहमति गरेका छौँ। ६ महिना पुग्न थालेको छ, यस अवधिमा पार्टीका साथीहरू र जनताको राय के छ भनेर बुझ्न आएका छौँ’, नेता साउदले भने, ‘अहिले सरकारमा नेपाली कांग्रेस पनि सामेल छ। त्यसकारण सरकारले गरेका कामहरूलाई सहयोग गर्ने र जनताको सेवा गर्नका लागि दबाब दिने र खबरदारी गर्ने जिम्मेवारीमा हामी छौँ।’
Shares

प्रतिक्रिया