राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड बढाउने गरी कानुन निर्माण गर्न लागिएको भन्दै विरोध गरेको छ।
जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै थ्रेसहोल्ड खारेज गर्नुपर्नेमा जोड दिएकी छन्।
सरकारले प्रदेशसभामा तीन प्रतिशत र प्रतिनिधिसभामा पाँच प्रतिशत थ्रेसहोल्ड कायम गर्ने गरी कानुन बनाउने तयाी गरेपछि जनमोर्चाले विरोध गरेको हो।
केही ठूला दलहरूले संसद्मा एकाधिकार कायम गर्ने योजनाबद्ध प्रयासस्वरूप उक्त कानुन ल्याउन थालिएको जनमोर्चाको आरोप छ।
विज्ञप्तिमा भनिएको छ :
देशका केही ठूला राजनीतिक दलहरूले देशमा आफ्नो एकाधिकार कायम गर्नका लागि योजनाबद्ध प्रकारले काम गरिरहेको देखिन्छ। त्यही सिलसिलामा उनीहरूले समानुपातिक चुनावमा थ्रेसहोल्डको प्रतिशतलाई बढाउने प्रयत्न गर्दै आएका छन्।
अहिले सञ्चारमाध्यमले दिएको समाचारअनुसार सरकारले थ्रेसहोल्डलाई बढाउन कानुन संसद्मा लैजाँदै छ। त्यसअनुसार प्रदेशमा तीन प्रतिशत र प्रतिनिधिसभामा पाँच प्रतिशत थ्रेसहोल्ड राख्ने प्रकारको कानुन सरकारले बनाउन थालेको कुरा थाहा भएको छ।
हाम्रो जोड यो कुरामा छ कि थ्रेसहोल्डको प्रणालीलाई पूरै खारेज गर्नुपर्दछ। त्यसरी त्यसलाई खारेज गर्नुको सट्टा त्यसलाई अरू बढाएर लैजाने प्रयत्नलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ।
२०८१/०९/२५
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता
राष्ट्रिय जनमोर्चा
Shares

प्रतिक्रिया