राजनीति


रविको थुनछेक बहस र फ्र्याङ्क स्टकटनको त्यो कथा

रविको थुनछेक बहस र फ्र्याङ्क स्टकटनको त्यो कथा

वाशुदेव मिश्र
पुस २४, २०८१ बुधबार २२:१९, पोखरा

अमेरिकी उपन्यासकार तथा कथाकार फ्र्याङ्क रिचार्ड स्टकटनको एउटा प्रसिद्ध कथा छ– दि लेडी अर द टाइगर? (युवती कि बाघ)। 

कथा एउटा सनकी राजासँग सम्बन्धित छ। कथाको सारांश यस्तो छ– त्यो अर्धजंगली तथा बर्बर स्वभावका राजा कसैलाई दण्ड दिनुपर्‍यो भने एउटा रंगशालामा लैजान्थ्यो। त्यो रंगशालामा दुईवटा ढोका हुन्थे। एउटा ढोका खुल्दा त्यहाँ हिंसक बाघ निस्कन्थ्यो भने अर्को ढोका खोल्दा त्यसबाट त्यस व्यक्तिलाई सुहाउँदी युवती निस्कन्थिन्। कुन ढोका खोल्दा के निस्कन्छ भन्ने राजा स्वयंलाई पनि थाहा हुँदैनथ्यो। भाग्य भए युवती नभए हिंसक बाघ! उसको न्याय दिने तरिका नै यही थियो। 

भएछ के भने एकपटक राजाकी छोरी नै कुनै युवकको प्रेममा परिछन्। दरबारको खाइलाग्दो भारदारसँग राजकुमारी प्रेममा परेको कुरा राजालाई थाहा हुन्छ। राजाले छोरीको प्रेमीलाई माफ गर्दैन बरु न्यायको लागि पुरानै शैली अपनाउने निर्णय गर्छ। सबैभन्दा हिंसक र सबैभन्दा सुन्दरी कन्या खोजिन्छ। निश्चित दिनमा सजायको लागि उसलाई पनि रंगशालामा उपस्थित गराइन्छ। कथामा राजकुमारीको स्त्रीजन्य मनोदशाको लामो चर्चा गरिएको छ र प्रेमीले आफूलाई पक्कै कुन ढोका खोलौँ भनेर सोध्नेछ भन्ने पनि विश्वास छ।

भयो पनि त्यस्तै। युवक रंगशाला प्रवेश गर्‍यो। राजालाई अभिवादन गर्‍यो। राजकुमारीसँग कसैले चाल नपाउने गरी आँखा जुधायो र सोध्यो कुन ढोका खोलौँ? राजकुमारीबाट दायाँ ढोकाको इसारा आयो। युवकले ढोका खोल्यो। त्यहाँबाट के निस्क्यो होला? युवती कि बाघ? व्यञ्जनापूर्ण मनोदशासँग सम्बन्धित कथाको सार यत्ति हो। 

कथातिर घोत्लन छाडौँ। बरु, समर्थकहरूले बाघको उपमा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे सोचौँ। 
 
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा उनी यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरणमा पनि उनीमाथि २७ करोडको बिगो माग छ। 

रविसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस जारी छ। रविको तर्फबाट कानुन व्यवसायीहरूले प्रतिरक्षा बहस मंगलबार नै सिध्याएका छन्। त्यो उपक्रममा उनीहरूले रविमाथि दायर अभियोजन नै राजनीतिक पूर्वाग्रहले ग्रसित रहेकाले उनीलाई उन्मुक्ति दिनुपर्ने जिकिर गरेका छन्। उनलाई बाहिरै बसेर मुद्दा लड्न दिनुपर्ने पनि उनीहरूको माग छ। 

रवि पक्षधर कानुन व्यवसायीहरूको बहस सकिएपछि बुधबार वादी पक्षबाट अधिवक्ता रमणकुमार कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गर्दै रविले जानाजान कसूर गरेकाले उनलाई पुर्पक्षको लागि थुनामा पठाउनुपर्ने माग गरेका छन्। 

सर्वोच्च अदालत बारका सचिवसमेत रहेका अधिवक्ता कर्णले रवि प्रबन्ध निर्देशकको हैसियतले कार्यकारी अधिकारसहित गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा गएकाले, पटक–पटक आफैले मात्र गोर्खा मिडियाको चेकमा हस्ताक्षर गरेकाले, स्वेट सेयरको नाममा पैसा लिएको स्वीकारेको तर त्यो सेयर जीबी राईकै नाममा राखेकाले, कम्पनीको वास्तविक पूँजीभन्दा बढी ऋण लिएकाले उनी दोषी भएको जिकिर गरेका थिए।  

उनले भनेका थिए,‘गोर्खा मिडियाको बोर्ड संरचना हेर्ने हो भने रवि सेयरहोल्डर हुनुभन्दा अगाडि दुईजना मात्र सञ्चालक थिए, जीबी र छवि। त्यतिबेला प्रबन्धक नै थिएन। जब रवि गए, त्यसपछि मात्रै प्रबन्ध निर्देशकको कुरा आयो। प्रबन्ध निर्देशक भइसकेपछि जीबी र छवि कार्यकारी अधिकार नभएका सञ्चालक हुन्, सम्पूर्ण अधिकार प्रयोग गर्ने व्यक्ति नै उहाँ हो।’ 

उनले स्वेट सेयर लिएको स्वीकारे पनि त्यो रविकै  नाममा हुनुपर्नेमा अन्यथा भएकाले पनि बदनियत देखिएको बताए।  

चेकबारे थाहा नभएको रविको जिकिरमा उनले भने, ‘उहाँ सेयरधनी बन्नुभन्दा अगाडि नै चेकमा हस्ताक्षर गर्ने अधिकार थियो। त्यसअगाडि नै उहाँले चेक काटिरहनुभएको थियो। तीनजनालाई चेकमा एकल हस्ताक्षरको अधिकार दिइएको छ। यसको अर्थ, कुनै एकजना नभए अर्कोले गर्ने हो। कस्तो संयोग हो, रविजी खाली चेकमा हस्ताक्षर गर्नुहुन्छ? यो अवस्था त नहुनुपर्ने, या तीनवटै सञ्चालक बाहिर गएको हुनुपर्ने। यस्तो एकपटक होला, तर हरेक महिनामा खाली चेकमा हस्ताक्षर हुनु र त्यो सहकारीमा जम्मा हुनु यो संयोग कसरी हुन्छ? त्यो बेलामा बाँकी दुईजना कहाँ थिए? अनि सारा फाइनान्सको कन्ट्रोल जीबीमा थियो भन्नुहुन्छ, त्यसो भए तपाईंको हातमा खाली चेक कसरी अयो, चेक त उता हुनुपर्ने। तपाईंले त्यसरी चेकमा हस्ताक्षर गर्न पाउनुहुन्छ?’

यो मुद्दामा बिहीबार सरकारी वकिलको कार्यालयबाट थप बहस हुनेछ। त्यसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईले रविलाई उन्मुक्ति दिने, तारेखमा कि धरौटी लिएर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने फैसला गर्नेछन्। रविसँगै अन्य ४४ जनामाथिको अभियोगको पनि न्यायालयले सम्भवतः बिहीबार नै छिनोफानो गर्नेछ। 

रवि धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा जाने भन्ने निर्क्यौलको लागि अदालतको फैसला कुर्नैपर्छ। यहाँ युवती कि बाघ? भन्ने प्रश्नले काम गर्दैन। तर, पुर्पक्षका लागि थुनामा पठाउने निर्णय आउँदा चाहिँ रवि सोझै कास्की जिल्ला कारागार चलान हुनेछन्। 

२०२२ सालमा बनेको कास्की जिल्ला कारागारमा अहिले ‘क’ र ‘ख’ गरी दुईवटा ब्लक रहेका छन्। ती ब्लकको क्षमता भनेको ४ सय २९ जनाको मात्र हो तर अहिले त्यहाँ ७७२ जना कैदी रहेका छन्। तीमध्ये सहकारी ठगीका मात्र २५ जना थुनामा छन्। सूर्यदर्शन सहकारी काण्डमै पक्राउ परेका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामीसहितका व्यक्तिहरू त्यहीँ छन्। कुमार रम्तेल ‘क’ ब्लकमा छन् भने ‘ख’ मा पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) सहितका व्यक्तिहरू छन्। 

कास्की कारागारका प्रमुख राजेन्द्र शर्माका अनुसार ‘क’ ब्लक केही साँघुरो छ भने ‘ख’ खुल्ला छ। उनका अनुसार कैद सजायको लागि आउनेहरूलाई कहाँ राख्ने भन्ने कुरा त्यही दिन निर्णय हुन्छ। 

‘अगाडिदेखि तयारी हुँदैन। सामान्य नै हो। को आउँदै छ भन्ने जानकारी हुँदैन,’ उनले भने, ‘त्यहाँको जे व्यवस्था छ त्यहीँ एडजस्ट गर्ने हो। भीआईपीको लागि छुट्टै कोठा छैन। सामूहिक रुपमा भएको भिड नहुने गरी राख्ने हो।’ 

यद्यपि, विशिष्ट व्यक्ति आएमा चाहिँ उनीहरूलाई कहाँ बस्न चाहनुहुन्छ भन्नेबारे सोधिने गरेको र अरुभन्दा केही सुविधा दिइने गरेको उनले स्वीकारे। कोभिडको बेला १ हजारभन्दा बढी कैदीबन्दी रहेकाले कास्की कारागारमा क्षमताभन्दा बढी बन्दी भए पनि त्यति असहज नरहेको पनि उनले दाबी गरे। 

त्यसो त कास्की कारागार अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकीका पूर्वमुख्यमन्त्रीहरू खगराज अधिकारी, कृष्णचन्द्र नेपालीलगायतले जेल जीवन बिताएको ठाउँ हो। तर, जेलर शर्माका अनुसार यहाँ राजबन्दी राख्ने छुट्टै कोठा छैन। 

‘हामी विषयको गाम्भीर्य बुझ्छौँ। रविको सम्भावित जेलयात्रा र दिइने सहुलियतबारे संकेत गर्दै शर्माले भने, ‘कास्की जेलमा नबसेको को होला र राष्ट्रपति र प्रधानमन्त्री नै बसेको ठाउँ हो यो। बस्न असहज हैन। त्यहाँभित्र पनि छुट्टै हुन्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad