राजनीति


‘भीम रावल राजावादी भयो’ भनी प्रचार गरेछन्: भीम रावल

‘भीम रावल राजावादी भयो’ भनी प्रचार गरेछन्: भीम रावल

नेपालखबर
पुस २४, २०८१ बुधबार २१:३५, काठमाडौँ

नेता भीम रावलले विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाले साथ दिँदा नेकपा एमालेका मानिसहरूले 'भीम रावल राजावादी भयो' भनी प्रचार गरेको आरोप लगाएका छन्। 

एमालेबाट निकालिएका रावलले एमालेलाई 'बामाले' भनी टिप्पणी गर्ने गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई एमालेजनले 'बा' पनि भनेर सम्बोधन गर्ने भएकाले रावलले यस्तो भन्ने गरेका हुन्। 

'विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले 'भीम रावल राजावादी भयो' भनी प्रचार गरेछन्, रावलले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, 'जस्तासुकै अपराध, भ्रष्टाचार र कुकर्म गर्नेहरूलाई पार्टी र सरकारका ठूलठूला पदमा राख्नेहरूलाई देशभक्त युवाहरूले मलाई साथ दिदा कति पोलेको?'

यस क्रममा उनले हलोमा मतदान गर्न लगाउने बरु एमाले नै राजावादी भएको देखाउन पनि खोजेका छन्। 

उनले लेखेका छन्, 'हामी आन्दोलनमा रहेको बेला 'पञ्चातको आमा' भनी चिनिने डा. तुलसी गिरीसँग गोप्य साँठगाँठ गर्ने, चुनाव जित्न झापामा राजेन्द्र लिङ्देनसँग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, एमाले कार्यकर्तालाई रुवाएर राप्रपा, नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली वाइन टाउकोमा राख्ने, भ्रष्ट, बिचौलिया, कम्युनिस्ट पार्टीले प्रतिक्रयावादी भनेकाहरूसँग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवायुवतीहरूको मप्रतिको समर्थनलाई 'राजावादी' भन्नु हास्यास्पद छ।'

रावलले देश र जनताको हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध उभिने सम्पूर्ण देशभक्तलाई एकजुट हुन आफूले आह्वान गरेको उल्लेख गरेका छन्।

पुस १० गते एमाले सचिवालय बैठकले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेपछि ‘मातृभूमि जागरण अभियान’का साथ रावल पुस २० गते कोसी प्रदेशको राजधानी विराटनगर पुगेका थिए।

त्यस क्रममा उनको स्वागतमा राजावादीदेखि नेकपा एकीकृत समाजवादीका कार्यकर्तासम्म विमानस्थल पुगेका थिए।  

रावलको स्वागतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ता समेत सहभागी भएका थिए। जसमा उनीहरूले ‘जय देश, जय नरेश’को नारासमेत लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad