समाज


दुर्गा प्रसाईविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्दा दर्ता

दुर्गा प्रसाईविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्दा दर्ता

नेपालखबर
पुस २४, २०८१ बुधबार २१:५३, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध थप दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध अपराधिक लाभ र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

यसअघि प्रसाईंविरुद्ध साइबर क्राइमको आरोपमा पनि मुद्दा दायर भएको थियो। उक्त कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध लगतै अर्को मुद्दा अदालत पुगेको हो।

प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ।

यी मध्ये फुयाल हिरासतमा छन्। प्रसाई सर्वोच्चको आदेशले तारेखमा छन् भने मैनाली फरार छन्।

प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए।

फुयालले भारतीय नम्बरबाट फोन गरेर भारतीय आपराधिक समूह लरेन्स बिस्नोईको मान्छे हुँ भन्दै दुर्गा प्रसाईसँग ५ घण्टाभित्रमा माफी माग्न धम्की  दिएका थिए। माफी नमागे नसोचेको भोग्नु पर्ने चेतावनी समेत दिएको आरोप छ।

भारती नम्बरबाटै गभर्नर महाप्रसाद अधिकारीलाई पनि कात्तिक २५ गतेदेखि नै फोन गरेको खुलेको छ। तर गभर्नरले अपरिचित नम्बर भएकाले नउठाएको तर निरन्तर फोन आएपछि गभर्नरका सचिवालयका सहायक निर्देशकको फोनबाट कलब्याक गरिएको थियो। तर त्यो फोन उठाएका थिएनन्। पछि फेरि सहायक निर्देशककै नम्बरमा फोन गरेर आफ्नो नाम टाइगर बताएका थिए।

आफूलाई सुटर बताउने व्यक्तिले गभर्नरलाई होसियारीपूर्वक काम गर्न चेतावनी दिएका थिए। त्यसपछि राष्ट्र बैंकले उक्त व्यक्तिमाथी अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो।

फुयालले अनुसन्धानका क्रममा आफूलाई यसरी टेलिफोन गरेर धम्कि दिन दुर्गा प्रसाईंले लगाएको बयान दिएका छन्। त्यसबापत आफूलाई ३ लाख रुपैयाँ दिने भनेको उनको बयान छ। कसलाई के भनेर गालि गर्ने भनेर राकेश मैनालीले सिकाएको उनको बयान छ।

मंसिर ७ गतेपछि उनलाई ३ लाख रुपैयाँ दिने बताएको उनको भनाई छ। तर प्रसाईलाई प्रहरीले त्यसअघि नै पक्राउ गरेको थियो।

प्रसाईं र फुयालबिच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ।

प्रसाईंले भने गोल्यानले आफूविरुद्ध कुनै रिसिइवीले उजुरी दिएको बताएका छन्। उनले राष्ट्र बैंकका गभर्नरलाई पनि धम्क्याउन नलगाएको र कुनै समूह पनि खडा नगरेको बयान दिएका छन्।

प्रसाईंले उनको मोवाइलमा भेटिएका म्यासेज तथा अडिओ भिडिओ बारे पनि आफूलाई जानकारी नभएको बयान दिएका छन्। उनले घटनामा आफ्नो संलग्नता पूरै अस्वीकार गरेका छन्।

अब अदालतमा उनीहरुको बयान हुनेछ। त्यसपछि फुयाल र प्रसाईंलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा राखेर भन्ने आदेश हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad