राजनीति


कोरोना संक्रमण रोक्न पर्यटन मन्त्रालयले दियो १३ बुँदे निर्देशन

कोरोना संक्रमण रोक्न पर्यटन मन्त्रालयले दियो १३ बुँदे निर्देशन

नेपालखबर
चैत ६, २०७६ बिहिबार १०:८,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरु तत्काल कार्यान्वयन निर्देशन दिएका हुन्।

बिहीबार मन्त्रालयमा मातहतका निकायका विभागीय प्रमुखहरुको बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णयहरु निर्णयहरु कार्यान्वयन थाल्न निर्देशन दिएका हुन्।

बुधबार उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठकले बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने लगायतका निर्णय गरेको छ।

मन्त्रालयमा आयोजित बैठकमा मन्त्री भट्टराईले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै संकटमा फसेको उल्लेख गर्दै त्यो संकट नेपालमा भित्रिन नदिन सबै क्रियाशील रहनुपर्ने बताए। उनले पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेका कामहरुलाई तत्काल कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए। पर्यटन मन्त्रालय सम्बद्ध निकायहरुले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा उत्कृष्ट काम गर्ने विश्वास समेत उनले व्यक्त गरे।

बैठकले पर्यटन मन्त्रालय अन्तर्गतका सबै सांस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसैगरी सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्व निर्धारित कार्यक्रमहरु समेत स्थगन गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउन र त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालुहरुबीचको दूरी कम्तीमा १ मिटर कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Image may contain: 4 people, people sitting, table and indoor

बैठकले पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेस्टुरेन्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

यसैगरी मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

यी हुन् पर्यटन मन्त्रालयका १३ तयारी

1. यस मन्त्रालय अन्तर्गतका सबै सांस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत्र मसान्त सम्म बन्द गर्ने।

2. सा‌ंस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्ने। पूर्वनिर्धारित कार्यक्रमहरु समेत स्थगन गर्ने।

3. विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु/दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने । त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी/तीर्थालुहरुबीचको दूरी कम्तीमा १ मिटर कायम गर्ने व्यवस्था मिलाउने। साबुन पानीले हात खुट्टा धुने प्रबन्ध मिलाउने। सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने । यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ एवम् ‘डिसइन्फेक्सन’ गर्ने गराउने।

4. पर्यटक सवारी साधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने। त्यस्ता सवारी साधन चलाउनु अघि सवारी साधनलाई ‘डिसइन्फेक्सन’ गर्ने व्यवस्था मिलाउने। यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने।

5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई हेल्थ डिक्लियरेसन फारम अनिवार्य भर्न लगाई स्वास्थ्य जाँच गर्ने गराउने । सोको अनुगमन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धकले गर्ने । साथै, आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने ।

6. यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रक सबै मुलुकहरु एवं टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते नेपाली समयको मध्यरातदेखि २०७६ चैत्र ३० गतेसम्म आगमनमा प्रतिवन्ध लगाइएको व्यहोराको जानकारी नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी समेतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गराउने।

7. नेपाल सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र सो को नियमित अनुगमन गर्ने।

8. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए) ले संचालन गरिरहेका पठनपाठन २०७६ चैत्र मसान्त सम्म बन्द गर्ने।

9. मन्त्रालय र अन्तर्गत निकायबाट संचालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने।

10. पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने । साथै, हात सफा गर्ने स्यानिटाइजर लगायतका सफाइका सामाग्रीहरुको प्रवन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबुल कुर्सी, बार-रेलिङ्गमा नियमित रुपमा ‘डिसइन्फेक्सन’ गर्ने व्यवस्था मिलाउने । यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नाथम र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने । यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नाथम, एनएमए, पर्यटक प्रहरी सहितको समन्वयमा स्वयंसेवक परिचालन गर्ने।

11. मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने।

12. विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय, अध्यागमन विभाग समेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक कार्य गर्ने ।

13. विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाइन अवधिपछि मात्र ट्राभल/ट्रेकिङ्ग अनुमति प्रदान गर्ने। सो सम्बन्धी व्यवस्थाको जानकारी पर्यटकले विमानस्थलमै र सम्वन्धित निकायहरुको वेवसाइटबाट पाउने व्यवस्था मिलाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad