राजनीति


प्रचण्डकै ‘कपिपेस्ट’ आरोपमा भीम रावलको खण्डनः थोत्रो पर्दाले सत्यतथ्य छोपिने छैन

प्रचण्डकै ‘कपिपेस्ट’ आरोपमा भीम रावलको खण्डनः थोत्रो पर्दाले सत्यतथ्य छोपिने छैन

फाइल तस्बिर: भीम रावल र केपी शर्मा ओली


नेपालखबर
पुस १९, २०८१ शुक्रबार १८:४७, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आफूले गरेका टिप्पणीलाई नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएकै आरोपहरूको ‘कपिपेस्ट’ भनेपछि नेता भीम रावलले रावलले जवाफ फर्काएका छन्।

उनले शुक्रबार विज्ञप्ति जारी गरी एमालेले आफूविरुद्ध लगाएका आरोपहरूको खण्डन गरेका हुन्।

पाँच बुँदामा आफ्ना कुरा राखिसकेपछि रावलले लेखेका छन्, ‘सत्ता र शक्तिको उन्माद भनेको यही हो। त्यसले सत्य, न्याय र विवेकलाई देख्न सक्दैन। झुट प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिने छैन।’

साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निकालिएपछि रावलले यही पुस १७ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी लिखित भाषणमार्फत ‌ओलीलाई अनेक आरोप लगाएका थिए। 

त्यसको भोलिपल्ट पुस १८ गते बसेको एमाले सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग ओलीविरुद्ध रावलले लगाएका आरोप प्रचण्डकै कपिपेस्ट भनेका थिए। 

यसविरुद्ध रावलले शुक्रबार वक्तव्य जारी गरी खण्डन गरेका हुन्। वक्तव्यमा उनले एमालेलाई एमालेसमेत नभनी ‘बामाले’ भनेका छन्।  

यस्तो छ रावलको वक्तव्य-

बामाले (बाको मात्र नाम लेऊ) भन्नेहरूले गरेका कुप्रचारका नमुनाहरू

१) देश, जनता, एमालेको सिद्धान्त र मान्यताविपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्यसंगत कुराहरू 'प्रचण्डले बोलेका कुराहरूको फोटोकपि' रे! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हितविपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरूको चर्चा 'प्रचण्डको आरोपको फोटोकपि' नै हुन् र?

२) २०६२/६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको वाहक र पृष्ठपोषक रहेको अकाट्य तथ्य सार्वजनिक हुँदाहुँदै 'दक्षिण पन्थीको नाइके' भीम रावल रे! आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्टु तरिका!

३) बामालेका 'काम्लो ओढेर घिउ खाने' कतिपयका 'काम्ला' उध्रिसकेका छन्, केहीका 'काला' टाल्ने दुष्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै 'भीम रावलले काम्लो ओढेर घीउ खाएको' रे!

४) भीम रावलले यो पद उ पद 'पाएको'ले सत्यतथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरूले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौँपटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे!

५) उनीहरूले गरेका झुटा र तथ्यहीन कुराहरूको आधारमा ममाथि गरिने प्रहार 'गालीगलौज' होइन रे! मैले अकाट्य तथ्यको आधारमा सोधेका प्रश्नहरू र दिएका जानकारी 'गालीगलौज रे!

सत्ता र शक्तिको उन्माद भनेको यही हो। त्यसले सत्य, न्याय र विवेकलाई देख्न सक्दैन। झुट प्रचार र थोत्रो पर्दाले सत्यतथ्य छोपिने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad