ad ad

राजनीति


गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, मुख्यमन्त्री सबैभन्दा धनी

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, मुख्यमन्त्री सबैभन्दा धनी

वाशुदेव मिश्र
चैत ५, २०७६ बुधबार १३:४०,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यहाँका अन्य मन्त्रीहरुभन्दा धनी देखिएका छन्। उनीसहित यहाँका ६ जना मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिँदा उनी सुन र नगदसहित धनी देखिएका हुन्।

लमजुङका मुखिया खलकका मुख्यमन्त्री गुरुङसँग अहिले ५१ तोला सुन छ भने ९० तोला चाँदी तथा ३३ लाख रुपैयाँ व्यक्तिगत खातामा छ। उनले सुन दाइजो, पेवा र उपहारबाट प्राप्त भएको जनाएका छन्। भेँडीगोठमा ९ वटा भेँडा र ७ वटा बाख्रा पनि मुख्यमन्त्रीको सम्पत्ति विवरणमा देखाइएको छ।

बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री गुरुङसँग लमजुङको खिलुङमा कित्ता नं २८१ मा २०४५ सालमा किनेको घरसहितको जग्गा छ। आशकुमारी गुरुङको नाममा खिलुङमा नै २५९ कित्ता नं. मा एकतले २ वटा घर छन्।

यस्तै, आशकुमारीकै नाममा खिलुङ ८ र ९ मा नै, ३६४, १४७, १५१, १८२, २१९ र १५९ कित्ता नं. मा २९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा छ। यो जग्गा अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ। पृथ्वीसुब्बा गुरुङको नाममा खिलुङ ८ मा १३२, २७६, ३३८ र ४८७ कित्ता नं. मा १० रोपनी ३ आना २ दाम अंशबण्डाबाट पाएको उल्लेख छ।

उनका छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख रुपैयाँ छ भने नबिलमा ६० लाख रुपैयाँ नगद छ। यसको स्रोत पारिश्रमिक भनेर उल्लेख गरिएको छ। लमजुङको क्होँलासोथर गाउँपालिकाको उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ नगद छ।

यस्तै, कुमारीकै नाममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा पाँच लाख रुपैयाँ बैंक मौज्दात छ। राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ पनि कुमारीकै नाममा छ। मुख्यमन्त्रीका छोरा विज्ञान पाइलट हुन। उनको नाममा पिपुल्स हाइड्रो कम्पनीमा शेयर १५ हजार कित्ता शेयर छ। मुख्यमन्त्रीसँग गाडी भने छैन।

यता, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको ललितपुर र पोखरामा जग्गा छ। उनको तनहुँ भीमाद नगरपालिकामा आमा बालकुमारी गुरुङको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा, स्वर्गीय बुबा पूर्णराम गुरुङको नाममा ८९ रोपनी जग्गा रहेको र ती सबै जमिन १ बहिनीसहित ४ दाजुभाइको सगोलमा रहेको मन्त्री गुरुङले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

मन्त्री किरण गुरुङको नाममा पोखरा १२ मा २२५.२० वर्ग मिटरको घडेरी एकलौटी नाममा, पर्वत फलेवास नगरपालिका साविक देवीस्थान ७ मा ११०६ कित्ता नं. ६ आना र ललितपुर धापाखेलमा ५ आना जमिन छ। चल सम्पतीमा ४ तोला सुन, श्रीमती कृष्णकुमारी श्रेष्ठको १५ तोला सुन, मन्त्री गुरुङको नाममा विभिन्न बैंकमा करिब १ लाख नगद छ।

किरणको ४ तोला सुन र गहना छन्। श्रीमती कृष्णकुमारी श्रेष्ठको नाममा पैतृक एक हार, एक सिक्री दुइजोर बाला, तीन औँठी दुइजोर टप छन्। किरण गुरुङको नाममा नबिल र एभरेष्ट बैंकमा खाता छ तर त्यहाँ मौज्दात भने उल्लेख छैन। मन्त्री गुरुङको नयाँ कृषि अभियान र तनहुँ सूचना समाज सहकारीमा क्रमशः १०० र २०० कित्ता शेयर छ।

उनकी पत्नीको नाममा भने सेल्फी इन्भेष्ट्स प्रालिमा ५ हजार कित्ता, गण्डकी प्रोपर्टी प्रालिको नाममा १० हजार कित्ता र पोखरा रोयल सहकारीको नाममा १ हजार कित्ता शेयर लगानी छ। यसबाहेक रोयल दिदीबहिनी किचनमा दुई लाख ७५ हजार रुपैयाँ र अर्को एक संस्थामा दुई लाख रुपैयाँ नगद लगानी छ ।

यस्तै, दुई छोरा केबी आकाश गुरुङ र रविन आकाश गुरुङको नाममा सेल्फी इन्भेष्ट्स प्रालिमा १० लाख रुपैयाँ बराबरको शेयर पनि छ। मन्त्रीको सवारी स्कर्पियो किस्ताबन्दीमा छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको तनहुँ आँबुखैरहनीमा श्रीमती धनकुमारी चुमानको नाममा १३ रोपनी जमिन रहेको उनले भरेको विवरणमा उल्लेख छ। मन्त्री चुमानको १० तोला सुन, विभिन्न बैंकमा करिब २ लाख र कृषि विकास बैंकमा ३२ सय सेयर रहेको जनाइएको छ। घर श्रीमतीको नाममा छ।

धनकुमारी चुमानको नाममा ८ आना र ४ रोपनी आना, हरिबहादुरको नाममा ५ रोपनी १३ आना जग्गा छ। १० तोला सुन छ भने मन्त्रीको नाममा माछापुच्छ्रे बैंकमा २५ हजार नगद मौज्दात, एभरेष्ट बैंकमा १ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ।

भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको गोरखा ३ नारेश्वरमा बुबा लिलाबहादुर बस्नेतको नाममा एउटा घरसहित करिब ५० रोपनी जमिन छ। उनको चल सम्पतीमा १४ तोला सुन, १० तोला चाँदी र विभिन्न बैंकमा करिब साढे ४ लाख नगद छ। करिब १० लाख ऋण लगाएको र त्यत्तिनै रकम तिनुपर्ने ऋण रहेकाले ऋणधन बराबर रहेको मन्त्री बस्नेतले जानकारी दिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कृषि विकास बैंकमा १५ लाख ऋण तिर्नुपर्नेपनि विवरणमा उल्लेख छ। लम्सालको पर्वत फलेवास नगरपालिका वडा नम्बर ५ मा करिब साढे ५ रोपनी जग्गा रहेको छ। नगद ५ लाख, सुन १० तोला र चाँदी ५० तोला रहेको विवरणमा उल्लेख छ। मन्त्री लम्सालको विभिन्न बैंकमा १० लाख मौज्दात रहेको तथा कृषि विकास बैंकमा ३ सय कित्ता सेयर रहेको मन्त्री बस्नेतले जानकारी दिए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको परिवार सगोलमा बस्छ। उनको संयुक्त परिवारमा एउटा घर र ४३ रोपनी जग्गा रहेको जनाइएको छ। जग्गा बुबा भीमबहादुर थापाको नाममा रहेको छ भने अंशबण्डा भइसकेको छैन। मन्त्री थापाको आफ्नै नाममा ३५ तोला सुन, विभिन्न बैंकमा ४ लाख नगद, दरौंदी बचत तथा ऋण सहकारी संस्थामा सेयर तथा १ हल गोरु र ७ वटा बाख्रा रहेका छन्।

सामाजिक विकासमन्त्री नरदेवी पुनको सम्पत्ति विवरण भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .