गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन्।
बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए। उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए। उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताए।
प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने बताए।
अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए। पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको गृहमन्त्री लेखकको भनाई थियो।
उनले भने, ‘मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन। कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन। प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ। एक जना मानिसका माथि मात्रै अनुसन्धान भएको होइन। पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भएको छ। सयौँ मान्छेहरु थुनामा परेका छन्। विदेशबाट समेत मान्छेहरुलाई ल्याइएको छ।’
गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताए। उनले उनमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताए।
उनले काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको बताए।
लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै प्रश्न गरे। अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गरे।
उनले भने, ‘रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकारको उल्लंघन भयो भनेर केही साथीहरु बोल्नुभयो। प्रमुख प्रतिपक्ष दलको नेता पनि बोल्नुभयो। हाम्रै पार्टीका नेताहरु पनि बोल्नुभयो। उहाँको कुनै मानव अधिकारको उल्लंघन भएको छैन। उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन। कुनै अवाञ्छित, गैरकानूनी, अमर्यादित काम, व्यवहार गरेको छैन। शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उनलाई लगिएको हो।’
हमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए। उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए।
उनले भने, ‘जहाँसम्म जीवि राईको कुरा यहाँले गर्नुभयो। उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ। हामीले गर्नेकुरा गरिरहेका छौँ। त्यसकाबारेमा अगाडि के हुन्छ हेरौँ। हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा। जो संलग्न छ, अनुसन्धान भइरहेको छ।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताए। चीन भ्रमणका क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताए।
उनले संघ प्रहरीको कानून नयाँ बनाउने काम भइरहेको बताए। सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए। संघको प्रहरीलाई थप व्यवस्थित, प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताए। प्रहरी समायोजनको काम पनि अब चाँडै हुने प्रतिवद्धता जनाए।
Shares

प्रतिक्रिया