राजनीति


विप्लव नेतृत्वको नेकपा अब निर्वाचन आयोगमा दर्ता हुने

फागुन ५ देखि भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय
विप्लव नेतृत्वको नेकपा अब निर्वाचन आयोगमा दर्ता हुने

नेपालखबर
पुस ३, २०८१ बुधबार ७:५९, काठमाडौँ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दर्ता हुने निर्णय गरेको छ । 

कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा गएको मंसिर २७ गतेदेखि सुरु भएर हिजो (मंगलबार) सकिएको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको पोलिटब्युरो सदस्य सन्देश पौडेलले जानकारी दिए। 

‘२०८४ को निर्वाचनमा सहभागी हुनेगरी पार्टी दर्ता प्रक्रिया अघि बढाउने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ,’ पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘बैठकले वामपन्थी शक्तिहरुबीचको एकतासँगै ध्रुविकरणमा पनि जोड दिने निर्णय गरेको छ।’

उनले २०८४ मा हुने चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिह्न लिने निर्णयसमेत भएकाे जानकारी दिए।

त्यसैगरि बैठकले आगामी फागुन ५ गतेबाट भ्रष्टाचारविरुद्ध मेची महाकाली मार्च अभियान चलाउने पनि निर्णय गरेको छ। ‘फागुन ५ गते महासचिव विप्लवको नेतृत्वमा झापाबाट सुरु हुने त्यो अभियान कञ्चनपुर पुगेर समापन हुनेछ,’ पौडेलले भने, ‘त्यसपछि हामी मध्यपहाडी क्षेत्रमा पनि त्यो खाले अभियान सञ्चालन गर्नेछौँ।’

बैठकले देशभरि पार्टीले सञ्चालन गरेका कृषि फार्मलाई गुणात्मक वृद्धि गर्ने निर्णय पनि गरेकाे छ। दर्शन, अर्थतन्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा विकास भएका विचारलाई सश्लेषण गरेर अघि बढ्नेसहितका नयाँ आर्थिक मार्गसमेत पार्टीले तय गरेको पौडेलले बताए। 

उनले आफ्नो पार्टीले पाँचौ बैठकबाटै माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरे पनि माओवादी एकताप्रति गम्भीर नदेखिएको आरोप लगाए। तत्कालको लागि माओवादी केन्द्रसँग एकता सम्भव नभए मोर्चाबन्दी गर्ने नीतिलाई खुला राखेर अघि बढ्ने निर्णय पनि नेकपाले याे बैठकबाट गरेको छ। 

नेकपाले यही बैठकबाट नेताहरुमा ‘ड्रेसकोड’समेत लागू गरेको छ। 

केन्द्रीय समिति बैठकमा महासचिव विप्लवसहितका नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्ट (एकै प्रकारको ड्रेस) लगाएर सहभागी भएका छन्। 

कपिलवस्तुको शिवगढीमै भोलि (बिहीबार)बाट केन्द्रीय प्रतिनिधि समितिको बैठक सुरु हुने पोलिटब्युरो सदस्य पौडेलले जानकारी दिए। ‘बैठकले गरेका निर्णय केही दिनपछि काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad