राजनीति


एसईई रोकिँदैन, सावधानी अपनाउछौँ : शिक्षामन्त्री

एसईई रोकिँदैन, सावधानी अपनाउछौँ : शिक्षामन्त्री

नेपालखबर
चैत ४, २०७६ मंगलबार १०:५३,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा पर्याप्त सावधानी अपनाएर तोकिएको समयमै  सञ्चालन गर्ने बताएका छन्।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गइरहेको र नेपालमा पनि त्यसको प्रभाव देखिन थालेपछि एसईई तोकिएको समयमा हुने हुनेबारेमा अन्यौल सिर्जना भएको थियो। ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । जसका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ।

मंगलबार मन्त्री पोखरेलले एक विज्ञप्ति प्रकाशित गर्दै एसईईको सम्पूर्ण तयारी पूरा भएको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको भन्दै  परीक्षा पूर्वनिर्धारित समयमै हुने बताएका हुन्।

एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन प्रदेश सरकारले गर्ने बताउँदै उनले संघीय सरकार र स्थानीय तहले आवश्यक अनुरुप समन्वय र सहजीकरण गरिरहेको बताएका छन्। उनले परीक्षा अवधिभर परीक्षा केन्द्रमा हेल्थ डेक्स राख्न स्थानीय तहलाई अनुरोध समेत गरेको बताएका  छन्।

‘स्वास्थ्य क्षेत्रका विज्ञ र शिक्षाका सरोकारवालाहरुसँगको परामर्श र छलफलपश्चात माननीय उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा गठित नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय अनुगमन समितिमा भएका छलफल विश्लेषण समेतका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै  पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रवन्ध गरिएको छ’, मन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायत प्रदान गर्न प्रत्यक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको छ।’

उनले परीक्षा अवधिभर विद्यार्थीमा त्रासमुक्त वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग आग्रह समेत गरेका छन्। विद्यार्थीहरुलाई साबुन पानीले हात धुन, मास्कको प्रयोग गर्न र भिडभाडमा नजान पनि उनकाे आग्रह छ।

मन्त्री पोखरेलले परीक्षा केन्द्रमा अनावश्यक भिडभाड नगर्न अभिभावकहरुलाई आग्रह गर्दै सो को अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गरेका छन्। उनले भयरहित वातावरणका परीक्षा सञ्चालन गर्न समेत आग्रह गरेका छन्।

‘परीक्षामा सहभागी हुने सबै विद्यार्थी भाइबहिनीहरुलाई केन्द्राध्यक्ष र हेल्थ डेक्समा कार्यरत व्यक्तिले दिएका निर्देशनहरु पालाना गर्दै व्यक्तिगत तबरले सचेत रही भयाभित र त्रसित नभइकन मर्यादित तबरले परीक्षामा सहभागी हुन अनुरोध गर्दछु।’, मन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 उनले परीक्षा सकिएका विद्यार्थीलाई घरबहिर नजान आग्रह गरेका छन्। साथै विद्यालयहरुलाई कोरोनाको प्रकोपलाई ध्यानमा राख्दै  सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिक, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न अनुरोध गरेका छन्।

Image may contain: text

Image may contain: text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad