राजनीति


पीएल सिंहबारे झलनाथ खनाल: विकासप्रेमी मेयर

पीएल सिंहबारे झलनाथ खनाल: विकासप्रेमी मेयर

नेपालखबर
पुस १, २०८१ सोमबार १९:११, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख (मेयर) को निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। 

पूर्वमन्त्रीसमेत रहेका सिंहको निधनले आफूलाई स्तब्ध बनाएको खनालले उल्लेख गरेका छन्। 

लोकतान्त्रिक आन्दोलन र काठमाडौँ नगरपालिकालाई महानगरपालिका बनाउन सिंहले खेलेको भूमिका स्मरण गर्दै पूर्वप्रधानमन्त्री खनालले सोमबार साँझ सामाजिक सञ्जालप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्। 

‘उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा पटकपटक जेल जीवन पनि बिताउनुभएको थियो। त्यति मात्र होइन, उहाँ एउटा विकासप्रेमी मेयर पनि हुनुहुन्थ्यो। उहाँकै पहलमा काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। उहाँले गर्नुभएका यस्ता सामाजिक कार्यहरू आज पनि हामी सम्झिइरहेका छौँ’, खनालले लेखेका छन्, ‘यस दु:खद शोकको घडीमा दिवंगत श्री पीएल सिंहप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, उहाँका शोकाकुल परिवारजन र आफन्तजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु।’

८८ वर्षको उमेरमा आज बिहान बितेका पूर्वमेयर सिंहको अघि साँझ डल्लुनजिकै कंकेश्वरी घाटमा अन्त्येष्टि गरिएको छ।

सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए।

पूर्वप्रमुख सिंह पछिल्लो समय ठमेलस्थित चाक्सीबारी बसेका थिए। पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष शल्यक्रिया गरिएको थियो।

वि.सं. १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। उनकै कार्यकालमा २०५२ मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad