राजनीति


भारतीय सेनाको मानार्थ महारथी दर्जा पाएर फर्किए सिग्देल

भारतीय सेनाको मानार्थ महारथी दर्जा पाएर फर्किए सिग्देल

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १७:५१, काठमाडौँ

प्रधान सेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गरी स्वदेश फर्किएका छन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर २६ गते भारत भ्रमणका लागि प्रस्थान गरेका उनी आइतबार (मंसिर ३० गते) स्वदेश फिर्ता भएका हुन्।

उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

भारत भ्रमणको क्रममा मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।

भ्रमणको सिलसिलामा प्रधान सेनापति सिग्देल देहरादुनस्थितन इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरूमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए।

प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ डिफेन्स स्टाफ अनिल चौहानस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

सो अवसरमा उनले भारतीय सेनाको दक्षिण कमान्डअन्तर्गतका एयर फोर्स स्टेसन, टाटा एड्भान्स्ड सिस्टम लिमिटेड लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि अवलोकन गरेका थिए।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास लिएको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad