नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ। केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ११ बजेदेखि बैठक शुरु हुने सो पार्टीले जनाएको छ।
एकीकृत समाजवादीले महाधिवेशन भएको ५ महिना बितिसक्दा पनि नेताहरुको जिम्मेवारी बाँडफाँट टुंग्याउन सकेको छैन। आजको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटबारे छलफल हुने बताइएको छ।
त्यसैगरी बैठकमा पार्टीको देशभरको सांगठनिक अवस्था, जिल्ला तथा प्रदेशका अधिवेशन, मुलुकको समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न दसौँ महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो। पछि केन्द्रीय कमिटीले महाधिकारी चयन गर्ने भन्दै उक्त महाधिवेशन सकिएको घोषणा गरिएको थियो।
गत भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गर्यो। उनी निर्विरोध निर्वाचित हुँदा बाँकी पदाधिकारीमा मतदान भएको थियो। १७ पदाधिकारीका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए।
जसमा उपाध्यक्षमा जयन्ती राई, धर्मनाथ शाह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी निर्वाचित भए। उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई चुनिए। सात जना सचिवमा बलदेव चौधरी, गणेश विक, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल निर्वाचित भएका थिए।
अहिले उनीहरूबीच विभिन्न विभागको नेतृत्व कसले हात पार्ने भन्ने हानथाप चलिरहेको छ।
Shares

प्रतिक्रिया