नेकपा एकीकृत समाजवादीले महाधिवेशन सकेको ५ महिना बितिसक्दा पनि जिम्मेवारी बाँडफाँट टुंग्याउन सकेको छैन। नेताहरूको जिम्मेवारी बाँडफाँटबारे छलफल गर्न बुधबार स्थायी समितिको बैठक बोलाइएको छ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुका साथै नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न दसौँ महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन गरेको थियो। पछि केन्द्रीय कमिटीले महाधिकारी चयन गर्ने भन्दै उक्त महाधिवेशन सकिएको घोषणा गरिएको थियो।
भदौ दोस्रो साता केन्द्रीय कमिटीले वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे चयन भए। उनी निर्विरोध निर्वाचित हुँदा बाँकी पदाधिकारीमा मतदान भएको थियो। १७ पदाधिकारीका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए।
जसमा उपाध्यक्षमा जयन्ती राई, धर्मनाथ शाह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी निर्वाचित भए। उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई चुनिए। सात जना सचिवमा बलदेव चौधरी, गणेश विक, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल निर्वाचित भए।
अहिले उनीहरूबीच विभिन्न विभागको नेतृत्व कसले हात पार्ने भन्ने हानथाप चलिरहेको छ।
एकीकृत समाजवादीमा अहिले सबैभन्दा ठूलो लफडा संगठन विभागमा देखिएको छ। सुरुमा महासचिव घनश्याम भुसालले यो विभाग आफै राख्न खोजेका थिए। उनले दाबी गरेपछि वरिष्ठ नेता वेदुराम भुसालले आफूले पाउनुपर्ने अडान राखे। दुई भुसालबीच कुरा नमिलिरहेकै बेला वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे दाबी गर्न आइपुगेका छन्।
तीन प्रभावशाली नेताहरूले दाबी नछाड्दा अन्य विभागको नेतृत्व चयन पनि पेचिलो भएको छ। मुख्य नेताहरूको कार्यविभाजन नमिल्दा अरूलाई पनि जिम्मेवारी तोक्न समस्या भएको एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरलाई बताए।
ती नेताका अनुसार, सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग र प्रमेश हमाललाई स्कुल विभाग दिने तय भएको छ।
नेताहरूको कार्यविभाजन टुंग्याउन सात सदस्यीय कार्यदल पनि बनाइएको छ। यसको नेतृत्व पार्टी अध्यक्ष माधव नेपालले नै गरिरहेका छन्।
नेताहरूको चित्त बुझाउन यसबीचमा तीन जनालाई वरिष्ठ नेताको दर्जा दिइएको छ, जसमा वेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल छन्। यस्तै महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय समिति बनाउने ३४४ जनाको बनाइएको छ। यतिले नपुगेर कतिपय नेताहरू उचित स्थान नपाएको भन्दै निष्क्रिय बसेका छन्।
Shares

प्रतिक्रिया