सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निस्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निस्कर्ष निकालेको हो।
बैठकपछि बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए। उनले नेपाल—चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निस्कर्ष निकालेको बताए।
अन्य सम्झौताका अतिरिक्त बीआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ।
सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बीआरआईलाई निस्कर्षमा पुर्याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निस्कर्ष एमालेको छ। बीआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल—चीन सम्बन्धमा पार्ने प्रभावहरुको बारेमा समीक्षा गरेका छौँ। भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ। अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ।’
उनले थपे, ‘सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा जुन ढंगको अण्डरस्ट्याण्डिङ बनेको छ, यसले बीआरआईलाई निस्कर्षमा पुर्याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ। भ्रमण निकै सफल रहेको निस्कर्षसहित बधाई ज्ञापन गरेका छौँ। दुवै देशले भएका सहमतिको शिघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने हाम्रो निस्कर्ष छ।’
बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ। जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनैपनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको बताए।
शहरी क्षेत्रमा जनमत सोचेको जस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निस्कर्ष निकालेको बताए। मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।
उनले भने, ‘मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ। समग्रमा नेकपा एमालेले थप उपलब्धि हाँसिल गरेको छ। हामीले जितेका सात वडाहरुमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो। एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ। तर यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ। खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाहरु जस्तो शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ।’
केही राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै मिस इन्फरमेसन र डिस इन्फरमेसनको माध्यमबाट जनतामा निराशा र भ्रम फैल्याउने काम गरेको निस्कर्ष एमालेको छ।
Shares

प्रतिक्रिया