राजनीति


देउवाले भने- ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे, धन्यवाद!

देउवाले भने- ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे, धन्यवाद!

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १६:५९, काठमाडौँ

नेपाली कांग्रेसका केही नेताहरूले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्।

कांग्रेसको प्रथम कोसी प्रदेश सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उनले ओलीसँगको सहकार्यप्रति ढुक्क हुन पनि पार्टी पंक्तिलाई आग्रह गरे।  

उनले भने, `ओलीजीसित हामीले सरकार बनाएका छौँ। स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनुपरेको हो। दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ। ओलीले काम पनि राम्रो गर्नुभएको छ। ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो। यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु।´

'वर्तमान समीकरण चलिरहन्छ'
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताए।

उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै उनले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिए। नेपालले ऋणको भार बढ्न नदिन बीआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएको उल्लेख गर्दै उनले भने, “एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अफ्ठ्यारो हुने काम गर्ने छैन।”

सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्ने भन्दै सम्मेलनबाट पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन गरिने जानकारी दिए।

उनले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणाम पार्टीका निम्ति सकारात्मक एवं उत्साहजनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै लिने बताए।

पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिए।

कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक रहेको बताए।

उनले पार्टीलाई सुसंगठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकर्तासम्म एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको स्पष्ट पारे।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषयमा व्यापक छलफल हुनुपर्ने जिकिर गरे।

कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सङ्गठन सुदृढीकरणका लागि सम्मेलन फलदायी बन्ने विश्वास व्यक्त गरे।

कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाको सभापतित्वमा भएको सम्मेलनमा कांग्रेसका नेताहरू विजयकुमार गच्छदार, डा शशांक कोइराला, डा प्रकाशशरण महत, राजीव कोइराला, अमृत अर्याल, सरिता प्रसाईं, डिला सङ्ग्रौला, गोमा भट्टराईलगायत नेताहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad