राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँँच जिल्लामा भेला आयोजना गर्दै छ।
पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँचवटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजना भएको जिल्ला भेलामा केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय नेताहरू समेत सहभागी हुने कार्यक्रम छ। भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने उनले बताए।
यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको उनको भनाइ छ।
रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ।
Shares

प्रतिक्रिया