राजनीति


रविलाई चितवनबाट राति पोखरा लगिएकोमा रास्वपाको आपत्ति

रविलाई चितवनबाट राति पोखरा लगिएकोमा रास्वपाको आपत्ति

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १४:५१, काठमाडौँ

सहकारी ठगीमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ। 

रास्वपाका कार्यबाहक प्रवक्ता  मनिस झाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको प्रत्यक्ष निर्देशनमा आश्चर्यजनक, निकृष्ट र निन्दनीय घटना भएको आरोप लगाएका छन्। 

सहारा चितवन सहकारी ठगीको आरोपमा मंगलबार र बुधबार बयान गराएर लामिछानेलाई बुधबार बेलुका नै पोखरा लगिएको थियो। दिनभर बयान चलिरहँदा रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीसँग झडप पनि भएको थियो। 

दिउँसो लैजाँदा रास्वपाका कार्यकर्ताले अवरोध गर्न खोज्ने र संभावित मानवीय क्षतिलाई रोक्न राति नै लगिएको चितवन प्रशासनको भनाई छ। 

तर भोलिपल्ट पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको रास्वपाले भने थाहै नपाई पोखरा पु¥याएको भन्दै असन्तुष्टि जनाएको हो। 

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पोखरा प्रहरीको हिरासतमा राखिएको छ। उनीमाथि त्यहाँ सूर्यदर्शन सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरण र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहेको छ। 

पोखरामा अनुसन्धान चलिरहँदा अरु चार वटा सहकारी ठगीको आरोपमा पनि साथसाथै अनुसन्धान भइरहेको छ। बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पर्साको सानोपाइला सहकारी ठगीको आरोपमा पनि रास्वपा सभापतिमाथि अनुसन्धान भइरहेको छ। काठमाडौँबाट चितवन लगिएका लामिछानेलाई आइतबार कास्की अदालतबाट थप म्याद लिएर पर्सा लैजाने प्हरकिो तयारी छ। 

लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराएर राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको रास्वपाको दाबी छ।

सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको समेत रास्वपाले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad