ad ad

राजनीति


प्रदेश सरकारद्वारा धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा

प्रदेश सरकारद्वारा धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा

शैलेन्द्र महतो
चैत ३, २०७६ सोमबार ४:५८,

प्रदेश २ सरकारले धनुषामा विषाक्त रक्सी पिएका कारण मृत्यु भएकाका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।

विषाक्त घरेलु मदिरा पिएका कारण बुधबारयता मात्र ९ जनाको मृत्यु भएको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा सोमबार बिहान पुगेका प्रदेश २ का मुख्यमन्त्री ललालबाबु राउतले पीडित परिवारलाई राहत दिने घोषणा गरेका हुन्।

पीडित परिवारहरूसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै मुख्यमन्त्री राउतले ३/३ लाख राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले विषाक्त मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नेलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाउँदै घटनामा संलग्न दोषीको खोजी जारी रहेको जानकारी दिए।

मुख्यमन्त्री राउतले प्रदेश सरकार चाँडै प्रदेशलाई नै खुला मदिरामुक्त घोषणा गर्ने तयारीमा रहेको जानकारीसमेत दिए।

रमदैया पुगेको मुख्यमन्त्रीको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै (सोमबार)सुरक्षा समितिको बैठक बसी खुला मदिरा नियन्त्रणको प्रक्रिया अघि बढाइने बताए। साथै घटनाका दोषीलाई कारबाही प्रक्रिया पनि थालिने उनले जानकारी दिए।

विषाक्त मदिरा पिएका कारण १५ दिनयता धनुषाका रमदैया बस्तीमा ९, जनकपुरधाम उपमहानगरपालिका ७ मुसहर बस्तीमा ६ र लक्ष्मीनियाँ गाउँपालिका ६ बगेबामा गरी आइतबार साँझसम्म २० जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .