मोरङको ग्रामथानमा ७१.३३ प्रतिशत मत खसेको छ। ग्रामथान गाउँपालिका अध्यषका लागि भएको मतदानमा १८ हजार ५७८ जनाले मतदान गरेका हुन्।
ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेका छन्। गाउँपालिकाका १२ मतदान स्थलमा २९ वटा मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार मतदान सकिएसँगै मुचुल्का तयार गर्ने र मतपेटिका संकलन गर्ने तयारी भइरहेको छ। आजै बेलुकाबाट मतगणना गर्ने तयारी छ। तर त्यसअघि सर्वदलिय बैठक बसेर निर्णय गर्नेछ।
सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएको पनि एसपी चिमोरियाले बताए।
ग्रामथानको गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बलराम सरकार थारु, एमालेका तुलसीराम विश्वास र माओवादीका नमो नारायण माझीले उम्मेदवारी दिएका छन्। उनीहरुलाई मुख्य दाबेदारको रुपमा लिइएको छ।
तीन ठूला दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई उम्मेदवार छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारुले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
यसअघि निर्वाचित कांग्रेसका जयप्रकाश गच्छदारको मृत्यु भएपछि त्यहाँ उपचुनाव भइरहेको हो।
Shares

प्रतिक्रिया