राजनीति


स्पष्टीकरण सोधेका उम्मेदवारलाई आयोगले लिनसक्छ एक लाख जरिवाना

स्पष्टीकरण सोधेका उम्मेदवारलाई आयोगले लिनसक्छ एक लाख जरिवाना

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार २२:१, काठमाडौँ

आचारसंहित विपरीत निर्वाचन प्रचारप्रसार गर्ने उम्मेदवारबारे निर्वाचन आयोगले भोलि निर्णय गर्ने भएको छ।

आयोगले प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीत काम गरेको भन्दै कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका १६ का ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको थियो।  
आयोगले कीर्तिपुर नगरपालिकामा मेयरका उम्मेदवार शिवशरण महर्जन र राजमान महर्जन तथा काठमाडौं १६ का वडा अध्यक्षका उम्मेदवार रोजिना श्रेष्ठ, मीनबहादुर मानन्धर, सम शाक्य र पशुपति कठायतलाई स्पष्टीकरण सोधेको थियो।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता विपरीत कार्य गर्ने उम्मेदवारलाई एक लाखसम्म जरिवाना हुनसक्ने र यसबारे आयोगले भोली निर्णय गर्ने नेपालखबरसँग बताए।

थपलियाले भने, ‘हामीले २४ घण्टाको समय दिएर उहाँहरूलाई आचारसंहित विपरीत काम गर्ने तपाईलाई किन जरिवाना नगर्ने? भनेर स्पष्टीकरण सोधेका छौं, उहाँहरू सबैले आजसम्म जवाफ पठाउनुभएको छ। भोलि उहाँहरूको जवाफ हेरेर आयोगले निर्णय गर्छ।’

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि भइरहेको सूचनापछि आयोगले बुधबार यी दुई ठाउँमा छुट्टाछुट्टै अनुगमन टोली पठाएको थियो।

अनुगमन टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले यी उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो।

प्रमुख आयुक्त थपलियाले बुधबार खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा आचारसंहिता विपरीत उम्मेदवारले प्रयोग गरेको सामान जफत गरेपछि बिहीबार र शुक्रबार आचारसंहित विपरीतको काममा कमी आएको बताए।  

उनले भने, ‘हामीले ठाउँको ठाउँमै कारबाही गर्न सक्ने अधिकारसहितको टोली खटाएका थियौं, अस्ति टोलीले अनुगमन गरेर विपरीत काम गर्नेहरूलाई सोही स्थानमा समातेर उनीहरूले प्रयोग गरेको सामान जफत गरेपछि हिजो र आज खासै आचारसंहित उल्लङ्घनको काम भएको छैन।’

आचारसंहिता उल्लङ्घन भएको सूचनापछि आयोगले अनुगमनका लागि कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा चार सदस्यीय टोली खटाएको थियो। टोलीको सदस्यमा उपसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेका थिए।

त्यस्तै आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ सहसचिव नारायण प्रसाद सापकोटाको नेतृत्वमा आचारसंहिता अनुगमनका लागि टोली खटाएको थियो। टोलीमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, कानून उपसचिव सीता पुन र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा सदस्य रहेका थिए।

उपनिर्वाचन हुने अनय जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन भइरहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad