राजनीति


आचारसंहिता विपरीत माइकिङ गर्दै हिँड्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता विपरीत माइकिङ गर्दै हिँड्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार २०:२०, काठमाडौँ

निर्वाचन आयोगले आचारसंहिता विपरीत माइकिङ गर्दै हिँड्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

आयोगबाट आचारसंहिता अनुगमनमा खटिएको टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले ६ जनालाई स्पष्टीकरण सोधेको हो।

निर्वाचन आयोगले काठमाडौं महानरगपालिका वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा बुधबार छुट्टाछुट्टै दुईवटा टोलीलाई आचारसंहिता अनुगमनका लागि खटाएको थियो।

अनुगमनका क्रममा टोलीले आचारसंहिता उल्लङ्घन भएको भेटेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले स्पष्टिकरण सोधेका उम्मेदवारहरूमा कीर्तिपुर नगरपालिकामा मेयरका उम्मेदवार शिवशरण महर्जन र राजमान महर्जन तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा वडाअध्यक्षका उम्मेदवार रोजिना श्रेष्ठ, मीनबहादुर मानन्धर, सम शाक्य र पशुपति कठायत रहेका छन्।

शिवशरण नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकामा मेयरका उम्मेदवार हुन् भने राजमान स्वतन्त्र उम्मेदवार हुन्।

यस्तै, रोजिना महानगरको १६ नम्बर वडामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वडा अध्यक्षको उम्मेदवार हुन्। मानन्धर एकीकृत समाजवादी र शाक्य र कडायत स्वतन्त्र उम्मेदवार हुन्।

६ नै जनालाई आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको हो।   

आचारसंहिता उल्लङ्घन भएको सूचना आएपछि आयोगले अनुगमनका लागि कीर्तिपुर नगरपालिकामा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा चार सदस्यीय टोली खटाएको थियो। टोलीको सदस्यमा उपसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेका थिए।

त्यस्तै आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ सहसचिव नारायण प्रसाद सापकोटाको नेतृत्वमा आचारसंहिता अनुगमनका लागि टोली खटाएको थियो। टोलीमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, कानून उपसचिव सीता पुन र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा सदस्य रहेका थिए।

स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तरगत मंसिर दुई गतेदेखि उपनिर्वाचन हुने जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागू भएको थियो।

टोली खटाउनुअघि ९ गते नै आयोगले विज्ञप्ति निकालेर आचारसंहिता उल्लङ्घन हुने कार्य नगर्न अनुरोध गरेको थियो। सवारीसाधनमा लाउड स्पीकर समेतको प्रयोग गरी प्रचारप्रसार भइरहेको सूचनाको आधारमा आयोगले विज्ञप्ति निकालेर यसो नगर्न भनेको थियो।

हेर्नुहोस् आयोगको विज्ञप्ति :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad