राजनीति


नन्दबहादुर र अमिकलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या २४ पुर्‍याउँदै माओवादी

विधान नै संशोधन गर्नुपर्ने
नन्दबहादुर र अमिकलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या २४ पुर्‍याउँदै माओवादी

सागर न्यौपाने
मंसिर १४, २०८१ शुक्रबार २१:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा एक केन्द्रीय अध्यक्ष, ४ उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव र ९ सचिव र एक कोषाध्यक्षसहित अहिले पदाधिकारी संख्या २२ छ।

तर, अब कम्तीमा दुईजना ‘भीआईपी’ व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउने तयारीमा पार्टी जुटेको छ।

उपराष्ट्रपतिको कार्यकाल सकिएपछि फुर्सदिलो बनेका  नन्दकिशोर पुन ‘पासाङ’ र प्रदेश प्रमुख पदावधि सकिएका अमिक शेरचनलाई फेरि सक्रिय राजनीतिमा फर्काउने गृहकार्यमा माओवादी छ।   

२०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा जन्मिएका पासाङ पहिलोपटक उपराष्ट्रपति हुँदा (२०७२ कात्तिक १४) माओवादीको स्थायी समिति सदस्य थिए। 

नौ वर्षपछि पार्टीकै सक्रिय राजनीतिमा फर्किन लागेका उनलाई एकैपटक ‘उपाध्यक्ष’मा बढुवा गरिने निश्चित भएको नेताहरू बताउँछन्। 

‘उपराष्ट्रपति भइसकेको व्यक्ति फर्केर आएपछि त उचित भूमिका दिनुपर्‍यो। फेरि उहाँ त विगतमा कमान्डर नै हो नि! वर्षमान पुन र जनार्दन शर्मा बराबरकै,’ माओवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘नयाँ मान्छे, अर्काे पार्टीबाट, तलबाट ल्याउन खोजेको होइन, उहाँ त जनमुक्ति सेनाको पहिलो कमान्डर हो। सभामुख भइसकेका अग्निप्रसाद सापकोटा फर्केर उपाध्यक्ष भएपछि पासाङ आएर उपाध्यक्ष बन्न मिल्दैन भन्ने छँदैछैन।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतले पनि पासाङलाई उपाध्यक्ष नै बनाउने बतायो। उनले प्रचण्डसँग छुट्टै छलफल गरेपछि केही पार्टी बैठकमा सहभागिता जनाइसकेका छन्।  

‘उहाँले फर्किन तयार छु भनिसक्नुभयो,’ खुमलटार स्रोतले भन्यो, ‘अध्यक्ष पनि ल्याउनेमै हुनुहुन्छ। उहाँलाई वरिष्ठ भन्दामुनिको उपाध्यक्षकै जिम्मेवारी दिन सकिन्छ भन्ने छ।’ 

यसको निर्णय पुस २ गतेदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठकबाट गर्ने तयारी छ। 

‘दुईजनाको बीचमा एक चरण कुराकानी भयो। अब छलफल गरेर टुङ्ग्याउने भनिएको छ,’ स्रोतले भन्यो। 

माओवादीका सचिव दीनानाथ शर्माले दुवैले पार्टीमा फेरि सक्रिय हुन चाहेपछि ल्याउने विषयमा छलफल भइरहेको बताए।  

‘पार्टीमा काम गर्छु भनेपछि उहाँहरूलाई भूमिका त दिनुपर्‍यो नि!’ शर्माले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिहरूलाई के गर्ने, पोजिसन के हुने? कहाँ बस्ने? यसबारे त पार्टीले निर्णय गर्छ।’ 

२००६ सालमा जन्मिएका शेरचन २०६२ सालको जनआन्दोलन गरेका सातदलीय गठबन्धनको एउटा घटक जनमोर्चाको अध्यक्ष थिए। जनआन्दोलन सफल भएपछि जनमोर्चा र नेकपा माओवादी एकीकरण भयो। 

संविधान जारी भएपछि उनी गण्डकी र लुम्बिनी प्रदेश प्रमुख भए। प्रमुख बन्नुअघि माओवादी केन्द्रमा उनी स्थायी समिति सदस्य थिए। 

शेरचनलाई पार्टीमा फेरि सक्रिय गराएर उनको विगतको योगदानको सम्मान गर्न खोजेको माओवादी नेताहरू बताउँछन्। यद्यपि, उनको जिम्मेवारी प्रष्ट भइनसकेको शर्मा बताउँछन्।  

माओवादी वृत्तमा पुन र शेरचन दुवैलाई पदाधिकारी बनाउने चर्चा छ। तर, ७५ वर्ष भइसकेका शेरचन पार्टीमा कुनै न कुनै जिम्मेवारीमा रहने नेताहरू बताउँछन्। यदि, दुवैजनालाई पदाधिकारी बनाएको खण्डमा विधान संशोधन गर्नुपर्छ। 

अहिलेको विधान अनुसार २२ पदाधिकारी मात्र रहने प्रावधान छ। त्यसो त अब बस्ने केन्द्रीय समिति बैठकले विभिन्न घटकसँग पार्टी एकताको एजेन्डा पारित गर्दैछ। त्यसपछि एकता महाधिवेशनको गर्नुपर्नेछ। 

केन्द्रीय समिति बैठकमा पार्टीको विधान परिमार्जन प्रस्ताव पेस हुने सचिव शर्मा बताउँछन्। 

एकजना उपाध्यक्ष कृष्णबहादुर महरा स्वास्थ्य अवस्थाका कारण पार्टी गतिविधिमा सक्रिय हुन नसकेको शर्मा बताउँछन्। 

प्रचण्डको दाउ
पुन र शेरचनलाई पदाधिकारी बनाउने योजना प्रचण्डकै भएको एकथरी माओवादी नेताहरूको तर्क छ। यसलाई उनीहरू पार्टीभित्र झन् शक्तिशाली हुने प्रचण्डको दाउका रूपमा अर्थ लगाउँछन्।

उपमहासचिव जनार्दन शर्माले टक्कर दिनेगरी पार्टी गतिविधि गरिरहेको, शर्माको गतिविधिमा अर्का उपमहासचिव वर्षमान पुनको समेत समर्थन भए पार्टीभित्र समस्या पर्ने प्रचण्ड आकलन गरेर प्रचण्डले आफ्ना पक्षमा उभिने पदाधिकारी बढाउन खोजेको उनीहरूको भनाइ छ।

तर, सचिव शर्मा भने सक्रिय राजनीतिमा फर्कने दुवैको चाहना रहेको दाबी गर्छन। 

‘कार्यालयको बैठक बसेको बेला उहाँको कुरा के रहेछ, सामूहिक रूपमै बुझौँ भनेर बोलाएका थियौँ,’ शर्माले भने, ‘तपाईंको सोच के छ, के गर्नुहुन्छ भनेर सोध्यौँ। म पार्टीको मान्छे हो, पार्टीले जे निर्णय गर्छ त्यही मान्य हुन्छ भन्नुभएको छ। उहाँ आउन तयार हुनुहुन्छ। हामीले निर्णय गरे आइहाल्नुहुन्छ।’

वर्षमानभन्दा केही जेठा मात्र र जनार्दनभन्दा कान्छा पासाङ ५९ वर्षका भए। आफूसँग अझै केही वर्ष राजनीति गर्ने उमेर रहेको उनले बताएका छन्। 

‘एमालेमा पनि विद्यादेवी भण्डारी राजनीतिमा फर्कने कुरा चलिरहेको छ,’ शर्माले थपे, ‘हाम्रो पार्टीमा पनि पासाङजीले म के गर्ने, म त पार्टीको मान्छे हो, भनेर रुचि देखाउनुभएको छ। कुन पोर्टफोलियो दिने? उपाध्यक्ष बनाउने कि, कता राख्ने? छलफल हुँदै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad