राजनीति


प्रधानमन्त्रीको चीन भ्रमण : काठमाडौँ-विदुर सडक र व्यापारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने

बीआरआईमा चीन लचक हुने संकेत
प्रधानमन्त्रीको चीन भ्रमण : काठमाडौँ-विदुर सडक र व्यापारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १९:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई विषयका समझदारी पत्रमा हस्ताक्षर लगभग सहमति जुटेको छ। बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाली पक्षले राख्ने प्रस्तावका पक्षमा पनि चिनियाँ पक्ष सकारात्मक देखिएको छ। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार व्यापार सम्बन्धी समझदारीपत्र र टोखा–छहरे सुरुङमार्गसहितको काठमाडौँ–विदुर (नुवाकोट) जोड्ने सडकमार्ग निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। 

‘अहिलेसम्मको प्रगति हेर्दा व्यापार सम्बन्धी समझदारी पत्र र काठमाडौँ–विदुर सडकमार्ग निर्माण सम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने विषयमा प्रारम्भिक सहमति जुटेको छ’ स्रोतले भन्यो, ‘अन्य विषयमा भने छलफल चलिरहेको छ।’ 

प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली पक्षबाट भक्तपुरमा स्थानान्तरण गर्ने भनिएको वीर अस्पताल निर्माणका सम्बन्धमा पनि प्रस्ताव गरिनेछ। 

‘वीर अस्पताल भक्तपुरको दुवाकोटमा स्थानान्तरणका लागि जमिनसमेत तय भइसकेको थियो, चीनले सहयोगको वचन पनि दिएको थियो,’ स्रोतले भन्यो, ‘तर, अहिले अर्कै स्थानमा अस्पताल निर्माणको योजना छ र त्यसमा सहयोग गर्न चीन तयार छ। सम्भवतः यस सम्बन्धी विषय पनि यसपटकको संयुक्त विज्ञप्तिमा पर्नेछ।’  

चक्रपथको विस्तार कार्य, कोदारी राजमार्गको विस्तार कार्यलाई शीघ्र सुरु, गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण कार्यलाई शीघ्र अघि बढाउन प्रस्ताव गर्नेछ। 

स्रोतका भनाइमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण, भरतपुर क्यान्सर अस्पतालको निर्माण र सिभिल अस्पताललाई अझ प्रविधियुक्त बनाउने विषयलाई शीघ्र अघि बढाउने प्रस्ताव पनि नेपालले राख्नेछ। 

यसमध्ये मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको निर्माण नेपालले बीआरआई अन्तर्गत नेपालले प्रस्ताव गरेको योजना हो। 

‘मुख्य विषय बीआरआई कार्यान्वयन सम्झौता हो, बीआरआई कार्यान्वयनका विषयमा कांग्रेस–एमालेभित्रै मतान्तर रहेकाले नयाँ विषय प्रस्तावित गर्न सकिने स्थिति छैन,’ स्रोतले भन्यो, ‘त्यसैले, पहिले प्रस्ताव गरिएका र चीनले सहयोगको वचन दिएका योजनाहरूलाई शीघ्र सुरु गर्ने विषय नै यसपटकको भ्रमणमा राखिनेछ।’ 

बीआरआई कार्यान्वयन सम्झौताका सन्दर्भमा नेपाली पक्षले राखेका प्रस्तावका सम्बन्धमा चिनियाँ पक्ष लचक बन्ने सम्भावना देखिएको छ। 

बीआरआईसँग सम्बन्धी परियोजनाहरू अघि बढाउन चीनले चार वर्षअघि नै प्रस्ताव गरेको कार्यान्वयन सम्झौतालाई परिमार्जन गर्न नेपाली कांग्रेसले एमालेसँग प्रस्ताव गरेको छ। कांग्र्रेसले त्यसको नाम बीआरआई कार्यान्वयन योजना राख्न प्रस्ताव गरेको छ। 

‘प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघिसम्म दुई दल कुनै न कुनै सहमतिमा पुग्लान्,’ स्रोतले भन्यो, ‘तर, सत्तारुढ दलबीच हुने सहमतिका सन्दर्भमा लचक हुने संकेत चीनले दिएको छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad