सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरि आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ।
राष्ट्रियसभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भईरहेका प्रयासबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्। अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएको नपाईएको जानकारी गराउँदै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे।
मन्त्री ढकालका अनुसार, अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन्। २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउँदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाइपछि पुनः परीक्षणमा नेगेटिभ देखिएको थियो।
उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाईएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दुरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताए।
संभावित जोखिमलाई मध्यनजर गरि सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आईसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे। हाल काठमाडौंमा १ सय ७० वेडको आईसीयु सञ्चालनमा छन्। उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयुको व्यवस्था तत्काल गर्ने काममा भईरहेको उनले स्पष्ट पारे। त्यसैगरी १ सय ५५ वटा आईसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरि आवश्यक व्यवस्था मिलाउने गरि आवश्यक औषधि र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको स्पष्ट पारे।
उनले सीडीओ र स्वास्थ्यकर्मीलाई जोखिमपुर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा कामगर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए।
चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको स्पष्ट पारे।
विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैँ क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाईनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।
उनले भने, ‘प्रत्येक दिन ज्वरो नाप्ने। त्यसका मुख्य गरी ३ वटा इण्डिकेटर छन्। सुख्खा खोकी हुने, ज्वरो आउने भयो भने हामी अस्पतालमा चेक गर्छौ। चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भो भने राज्यले सम्पुर्ण उपचारको जिम्मा लिन्छ। यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिनसम्म होमक्वारेन्टाईनमा बसेर सबैले राष्टको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौं।’
समाजका विभिन्न निकायका स्वयंम सेवकहरुलाई समेत संगठित गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उनले स्पष्ट पारे। सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उनले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभीत नहुन आग्रह गरे।
कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिसाहरु वैशाख १८ गतेसम्मका लागि स्थगित गरिएको, अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाईएपनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए।
उनले हाल नेपालका १ सय २९ नाका मध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसँग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरि आवश्यक सावधानी अपनाउन भनिएको बताए।
कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गते भित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २/४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने उनले स्पष्ट पारे।
अन्तर्राष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आव्हान गरिएको स्पष्ट पारे।
उनले फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा अधिकार सम्पन्न कोरोना रोग रोकथाम समन्वय समिति गठन गरको र यसले रोगसंग सम्बन्धीत सम्पुर्ण काम गर्ने व्यवस्था गरिएको दोहोर्याए। उनले एकिकृत योजना बनाउनका लागि समन्वय समितिले आइतबार ७ वटै प्रदेशका मुख्य मन्त्री र सामाजिक विकास मन्त्री सहितको बैठकको आयोजना गरेको जानकारी दिए। सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपालसँगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर बुटेलिन निकाल्ने काम भईरहेको उनले स्पष्ट पारे।
मन्त्री ढकालले उमेर समुह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराए। कोरोना संक्रमण भएका मध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत विरामी जोखिम अवस्थामा रहेको देखिएको उनले उल्लेख गरे। मन्त्री ढकालका अनुसार, ८० वर्ष भन्दा माथिका व्यक्तिको मृत्यु दर १४ दशमलब ८ प्रतिशत, ७० देखि ७९ उमेर समुहमा मृत्यु दर ८ प्रतिशत , ६० देखि ६९ उमेर समुहकामा ३ दशमलब ६ प्रतिशत, ५० देखि ५९ सम्म १ दशमलब ३ प्रतिशत, ४० देखि ४९ सम्म शुन्य दशमलब ४ प्रतिशत, १० देखि ३९ उमेर समुहमा शुन्य दशमलब २ प्रतिशत मृत्युको अनुपात रहेको तथा जन्मदेखि ९ वर्ष उमेर समुहमा यो संक्रमण अपवादका रुपमा देखिएको छ।
पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाईरस अहिले सम्म १ सय ५२ वटा मुलुकमा देखा परेको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन्। अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ। १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन्।
कोरोना संक्रमणबाट इरानका ५५ वर्षिय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ। क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानको उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ भने मंगोलियका राष्ट्रपति चीन भ्रमण पछि १४ दिनसम्म होमक्वारेन्टाईनमा बसेका छन्।

प्रतिक्रिया