उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता आफैँ अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताएका छन्।
विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफैँ अनुगमनकर्ता बनेर सूचना दिने परिपाटीको विकास गर्नुपर्ने उनले बताएका हुन्। विश्व उपभोक्ता दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले उपभोक्ताले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही नगरे आफूलाई भन्न पनि आग्रह गरे। आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न पनि उनले आग्रह गरे।
‘अहिलेको आवश्यकता सबै उपभोक्ता अनुगमनकर्ता बन्ने र सूचना दिने हो। विभागले ऐन अनुसार कारबाही गर्दैन भने तपाईहरुले भन्न पाउने हो’, उनले भने।
मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हक हित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने बताए। उपभोक्ता आफैँ अनुमगनकर्ता बनेर सँगसँगै हुनुपर्ने उनले बताए। सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि उपभोक्ता नै भएको उल्लेख गर्दै उनले अहिलेका कमीकमजोरीहरु सच्याउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरे।
राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्त हितका लागि निर्माण भएका सरकारी संरचना खारेज गर्नुपर्ने बताए। उपभोक्ताको हितमा काम गर्न नसकेको स्थानीय तहहरुमा गठन भएका समितिहरुले अनुगमनलाई चासो नै नदिएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे। स्थानीय तहका संरचनाहरुलाई दिइएको अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारीबोध गराउन नसके अधिकार खोस्नुपर्ने बताए।
आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले विश्व उपभोक्ता दिवस मनाएको छ। ‘उपभोक्त अधिकार, उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता’ भन्ने नाराका साथ दिवस मनाइएको हो।
Shares

प्रतिक्रिया