राजनीति


‘बीआरआई’ कार्यान्वयन हुन नदिन भारत र अमेरिका लागिपरेका छन् : मसाल

‘बीआरआई’ कार्यान्वयन हुन नदिन भारत र अमेरिका लागिपरेका छन् : मसाल

नेपालखबर
मंसिर १२, २०८१ बुधबार २०:२६, काठमाडौँ

नेकपा (मसाल) ले नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नदिन भारत र अमेरिका लागिपरेको बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि बीआरआई कार्यान्वयन हुन नदिन भइरहेका गतिविधि अमेरिका र भारतको इशारा बमोजिम भइरहेको मसालले संकेत गरेको छ।

महामन्त्री मोहनविक्रम सिंहले बुधबार एक वक्तव्य प्रकाशित गरी भारतद्वारा नेपालमाथि भइरहेको लगातारको हस्तक्षेप र अतिक्रमण तथा बारम्बारको नाकाबन्दीका विरुद्ध नियन्त्रण र सन्तुलनको लागि उत्तरतिर चीनसितको मैत्रिक सम्बन्धले विशेष महत्त्व राख्ने बताएका छन्।

‘चीनसितको त्यस प्रकारको मैत्रिक सम्बन्ध भारत, अमेरिका दुवैका साम्राज्यवादी उद्देश्यहरूका लागि बाधा बनेर उभिन्छ’ भन्दै मसालले अगाडि भनेको छ, ‘त्यसैले उनीहरूले नेपालको चीनसितको मैत्रिक सम्बन्धमा बाधा हाल्न पूरै प्रयत्न गर्दछन्।’

वक्तव्यमा अमेरिकासँगको एमसीसी सम्झौता नेपाललाई अमेरिकी सुरक्षा अन्तर्गत राख्ने कुरासँग सम्बन्धित रहेको र बीआरआई विकाससँग सम्बन्धित रहेको मसालले स्पष्ट पारेको छ।

यस्तो छ प्रेस वक्तव्य
प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा उठेका कतिपय प्रश्नहरूबारे ने.क.पा.(मसाल)को दृष्टिकोण स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ।

१. नेपालको प्रधानमन्त्रीले पहिले भारतमा मात्र भ्रमण गरेर अन्य कुनै देशमा भ्रमण गर्नुपर्ने प्रचलनका विपरीत प्रधानमन्त्री ओलीले पहिला भारतमा भ्रमण नगरिकन चीनमा भ्रमण गर्न थालेको कार्यको कतिपय पक्षहरूले टिकाटिप्पणी गरेका छन्। भारतका सञ्चार माध्यमहरूले पनि त्यसबारे निकै हल्ला गरेको पाइन्छ। नेपालको कुनै प्रधानमन्त्रीले पहिले भारतको नै भ्रमण गर्नुपर्छ भन्ने सोचाइ पूरै भारतपरस्त सोचाइ हो र त्यस प्रकारको सोचाइलाई हाम्रो पार्टीले पूरै गलत मान्दछ र अस्वीकार  गर्दछ। नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश हो। देशको राजनीतिक आवश्यकता वा कतैबाट निमन्त्रणाका आधारमा नेपाल सरकारले स्वतन्त्र रूपले कुन बेला कुन देशको यात्रा गर्ने? त्यो कुराको निर्णय गर्न सक्दछ। त्यसकारण त्यसबारे कुनै प्रश्न वा विवाद उठाउनु गलत हो।

२. हाम्रो पार्टीको ८ औँ महाधिवेशनले चीन र भारत दुबै देशहरूलाई साम्राज्यवादी देशको रूपमा व्याख्या गरेको छ। चीन पहिले समाजवादी देश थियो। तर पछि त्यसले पुँजीवादी दिशा लियो र अब त्यो साम्राज्यवादी देश भइसकेको छ। देशका कतिपय वामपन्थी शक्तिहरूले अहिले पनि त्यसलाई समाजवादी देश नै मान्दछन्। उनीहरूले चीनको साम्राज्यवादको अवस्थामा पतन भएको वास्तविकतालाई स्वीकार गर्दैनन्। दक्षिणपन्थी संशोधनवादी सोचाइको कारणले नै उनीहरूले त्यसलाई समाजवादी मान्ने गरेका छन्। तर त्यो सोचाइ गलत हो। वास्तविक तथ्य यो हो कि चीन अब साम्राज्यवादी देश बनिसकेको छ।

३. भारत पहिले विस्तारवादी देश थियो। तर त्यहाँ पुँजीवादले एकाधिकार पुँजीवादको रूप लिइसकेको छ र त्यसले ठुलो पैमानामा अन्तर्राष्ट्रिय स्तरमा पुँजीको समेत निर्यात गर्न थालेको छ। त्यसैले अब भारत साम्राज्यवादी देश बनिसकेको छ। तर नेपालका कतिपय वामपन्थी शक्तिहरूले त्यसलाई विस्तारवादी नै बताउँछन् र त्यो साम्राज्यवादी देश भएको कुरा मान्न तैयार छैनन्।

४. चीन र भारत दुबै साम्राज्यवादी देशहरू हुन्। तैपनि नेपालको भूराजनीतिक स्थिति, भारतद्वारा नेपालमाथि भइरहेको लगातारको हस्तक्षेप र अतिक्रमण तथा बारम्बारको नाकाबन्दीका विरुद्ध नियन्त्रण र सन्तुलनको लागि उत्तरतिर चीनको स्थिति र त्यससितको मैत्रिक सम्बन्धले नेपालका लागि विशेष महत्त्व राख्दछ। चीनसितको त्यस प्रकारको मैत्रिक सम्बन्ध भारत, अमेरिका दुबैका साम्राज्यवादी उद्देश्यहरूका लागि बाधा बनेर उभिन्छ। त्यसैले उनीहरूले नेपालको चीनसितको मैत्रिक सम्बन्धमा बाधा हाल्न पूरै प्रयत्न गर्दछन्। तर हामीले कुनै यो वा त्यो देशकोे प्रभावमा आएर होइन, हाम्रो देशको राष्ट्रिय आवश्यकतामाथि ध्यान दिएर नै कुनै देशप्रतिको नीति निश्चित गर्नुपर्दछ।

५. नेपालमा एकातिर एमसीसी र अर्कातिर बीआरआईको विषयमा निकै विवाद चल्ने गरेको छ। तर ती दुबैका बिचमा के अन्तर छ? त्यसबारे हामी स्पष्ट हुनुपर्ने आवश्यकता छ। एमसीसीको उद्देश्य नेपाललाई अमेरिकाको सुरक्षा नीति अन्तर्गत ल्याउनु र त्यसरी नेपाललाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत अमेरिकाको साम्राज्यवादी क्याम्पमा सामेल गर्नु हो। तर बीआरआईको चरित्र मुख्य रूपले विकास कार्यक्रमसित सम्बन्धित छ, त्यसरी ती दुबैलाई एकै पङ्क्तिमा राखेर विरोध गर्नु सही होइन।

६. अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सन्दर्भमा बीआरआई सम्बन्धी सम्झौतालाई कमजोर पार्ने प्रकारको जुन प्रयत्न भइराखेको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ। वास्तवमा नेपाल र चीनका बिचमा उक्त सम्झौता भएदेखि नै  अमेरिका र भारत समेतले त्यो सम्झौतालाई कार्यान्वयन हुन नदिन पूरा शक्ति लगाउँदै आएका छन् र उनीहरूको दबाबमा नेपालका विभिन्न राजनीतिक शक्तिहरू वा प्रशासन समेतले त्यो सम्झौतालाई निस्कृय बनाएर राखेका छन्। त्यही प्रकारको पृष्ठभूमिमा नै अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सन्दर्भमा पनि बीआरआईलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने प्रयत्न भइरहेको छ। त्यस सन्दर्भमा ऋण र अनुदान सम्बन्धी विवादलाई चर्काे रूपमा उठाइएको छ, त्यो अनावश्यक विवाद हो। संसारका कुनै पनि देशहरूबाट आवश्यकता अनुसार ऋण वा अनुदान दुबै लिने गरिएको छ। अहिले जुन पक्षहरूले बीआरआईको सन्दर्भमा ऋण लिने कुराको चर्काे विरोध गरिराखेका छन्, के उनीहरूले नेपाललाई कुनै पनि देशबाट ऋण नलिने कुराको अडान लिन सक्छन्? या उनीहरूले अहिलेसम्म कुनै पनि देशबाट कुनै पनि प्रकारको ऋण नलिने कुरा उठाउने गरेका छन्? त्यसरी अहिले जुन पक्षहरूले बीआरआईको सन्दर्भमा ऋण लिने कुराको पूरै विरोध गरिराखेका छन्, त्यसको पछाडिको उनीहरूको उद्देश्य त्यो सम्झौतालाई कुनै पनि अवस्थामा कार्यान्वयन हुन नदिनु नै हो।

७. भारत वा पश्चिमी साम्राज्यवादी देशहरूको हस्तक्षेप र अतिक्रमणका विरुद्ध सन्तुलन र नियन्त्रणमा जोड दिनको लागि चीनसितको मैत्रिक सम्बन्धमा जोड दिनुको अर्थ चीनको नेपालप्रतिको कुनै पनि गलत नीतिको समर्थन गर्नु अवश्य  पनि होइन। त्यसबारे हाम्रो पार्टीले सुरुदेखि नै स्पष्ट र दृढ नीति अपनाउँदै आएको छ। उदाहरणको लागि, नेपालमा पञ्चायती व्यवस्था भएको बेलामा चीनले राजा महेन्द्रलाई समर्थन गरेकाले नेपालका कतिपय ‘कम्युनिस्ट’हरूले पनि राजा वा पञ्चायती व्यवस्थालाई समर्थन गरेका थिए तर हामीले त्यस प्रकारको नीतिलाई दृढतापूर्वक अस्वीकार गरेर राजा वा पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्ष गरेका थियौँ। चीनले भारतसित मिलेर लिपुलेकको मार्गसम्बन्धी सन्धि गर्दा वा आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रलाई नेपालमा नदेखाउँदा समेत हामीले चीनको विरोध गरेका थियौँ। अहिले चीनको बीआरआई सम्बन्धी प्रस्तावमा सामरिक पक्ष पनि समावेश भएको भनेर त्यसको विरोध गर्ने कुरा पनि उठिरहेको छ। बीआरआईमा त्यस प्रकारको कुनै सामरिक पक्षलाई हामीले स्वीकार गर्दैनौँ। जसरी कि एमसीसीद्वारा चीनका विरुद्ध रणनीतिक मोर्चाबन्दी वा तिब्बतमाथि आक्रमणको लागि नेपाललाई सैनिक रूपले उपयोग गर्ने नीतिलाई हामीले विरोध गर्दछौँ। समग्र रूपमा कुनै पनि बहानामा एमसीसीको समकक्ष राखेर बीआरआईको पनि विरोध गर्ने नीतिलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ।

२०८१ मंसिर १२ गते।
मोहनविक्रम सिंह
महामन्त्री

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad